काठमाडौँ। एनएमबी बैंकले तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (Financial Closure) गरेको छ। बैंकले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको हो ।
आयोजनाको अनुमानित कुल लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने कन्सोर्टियममार्फत ४४ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी जुटाइएको छ। यो वित्तीय व्यवस्थापनलाई नेपालको ऊर्जा विकासमा अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
वित्तीय व्यवस्थापनमा एनएमबी अगुवा बैंकको रुपमा रहेको छ भने ग्लोबल आइएमई, हिमालयन तथा प्रभु सह-अगुवा बैंक रहनुका साथै अन्य विभिन्न बैंक तथा वित्तीय संस्था सहभागीको रुपमा रहनेछन्।
नेपालमा हालसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा वित्तीय लगानी गरिसकेको सम्बन्धित वित्तीय संस्थाले दिगो तथा जिम्मेवार लगानीमार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा निरन्तर योगदान गर्दै आएको जनाएको छ।
एससी पावर कम्पनी प्रालिको मुख्य नेतृत्व सुसन कर्माचार्य तथा उनको समूहले गरेको छ । तिला १ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र अनुसार कुल क्षमता ४४० मेगावाट रहेको छ र पीपीए अनुसार आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति वि.सं. २०८७ पुस १५ (३१ डिसेम्बर २०३०) रहेको छ । एनएमबि बैंकको तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल तथा कम्पनीको तर्फबाट अध्यक्ष सुसन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गरे ।
निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको यो जलविद्युत आयोजना जडान क्षमताका हिसाबले अहिलेसमको ठुलो आयोजना हो । आयोजना निर्माण पश्चात् पहिलो वर्ष करिब रु. ११.४ अर्ब आम्दानी हुने अनुमान गरिएको छ । एनएमबि बैंक लि. ले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका अनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरुको मूल्याङ्कनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ ।
एनएमबि बैंकले हाल देशभरी १९७ शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।



