काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडलाई निरन्तर सुपरिवेक्षकीय कारबाहीमा राखेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराएको छ।
बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदन अनुसार दुवै विकास बैंकले फरक–फरक प्रकृतिका नियामकीय कमजोरी गरेको पाइएको हो।
राष्ट्र बैंकका अनुसार नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्थाको शीर्ष व्यवस्थापकको कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिम गर्नुपर्ने कारबाही समयमै नगरेको पाइएको छ। प्रतिवेदनअनुसार २०८० माघ २९ गतेसम्म पनि आवश्यक कारबाही सम्पन्न नभएकाले बैंकलाई निरन्तर सुपरिवेक्षकीय कारबाही (Continuous Supervisory Action) मा राखिएको हो।
यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३ तथा एकीकृत निर्देशन, २०८० विपरीत आफ्नो वास्तविक तथा नाफा–नोक्सान हिसाबको विवरण समयमै पेश नगरेको राष्ट्र बैंकले जनाएको छ। यसका कारण बैंकको वार्षिक साधारणसभा समेत तोकिएको समयसीमाभन्दा ढिलो सम्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
उक्त कमजोरीका आधारमा नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराएको जनाएको छ।
राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई प्रचलित कानुन, नियामकीय निर्देशन तथा सुशासनसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिँदै यस्ता कमजोरी दोहोरिए थप कडा कारबाही हुन सक्ने संकेत गरेको छ।



