काठमाडौं । सेल (कृत्रिम) कम्पनी स्थापना गरेर बैंकबाट कर्जा लिई दुरुपयोग गरेको आरोपमा रामजानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट उनलाई पक्राउ गरेको हो। जानकी मेडिकल कलेज सोही फाउन्डेसनअन्तर्गत सञ्चालन हुँदै आएको छ।
सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पाण्डेविरुद्ध उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते नै पक्राउ पुर्जी जारी गर्ने अनुमति प्राप्त भएको थियो। सोही आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।
बैंकिङ प्रणालीको दुरुपयोग, गलत विवरण पेश गरी कर्जा प्रवाह गराउने तथा कर्जाको उद्देश्यविपरीत प्रयोग गर्ने विषयमा अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।

