काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले देशको समग्र विकासका लागि संसदमा तथ्यमा आधारित बौद्धिक बहस आवश्यक रहेको बताएका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले वैदेशिक अनुदान र ऋणको भरमा मात्र देश चलाउन खोज्नु गलत हो भनेका छन्।
‘आज देश अर्थतन्त्रमा विर्चौलिया प्रथा, नवउदारवाद हाबी भएको छ । उत्पादनमूखि अर्थतन्त्र र राष्ट्रिय पुँजीको विकास नगरि देश अगाडि बढ्न सक्दैन । वैदेशिक अनुदान र ऋणको भरमा मात्र देश चल्नुहुँदैन । आन्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ सरकारले यस तर्फ ठोस कदम चालोस्,’ उनले भने ।
त्यस्तै, नेपालको भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिका आधारमा मात्रै अन्तर्राष्ट्रिय सम्बन्ध अघि बढाउन उनले सरकारसँग आग्रह गरेका छन् ।

