काठमाडौँ । भरतपुर क्षेत्रका करिब डेढ सय सवारीधनीले टाटाका गाडी किनेकै कारण आफुहरुले दु:ख पाएको र बैंकको ऋण पनि कसरी तिर्ने भन्ने चिन्ताले पिरोल्न थालेको बताएका छन् । गाडी किनेको पहिलो दिनदेखि नै इन्जिन, इलेक्ट्रिकल सिस्टम र इन्जेक्टरमा समस्या देखिएको आरोप लगाउँदै कम्पनीविरुद्ध सामूहिक आवाज उठाएका हुन्।
पीडितहरूका अनुसार नयाँ गाडी पहिलो टिपमै बीच बाटोमा बन्द हुने, इन्जिन स्टार्ट नहुने, इन्जेक्टरमा खराबी आउने तथा पटक-पटक वर्कसप धाउनुपर्ने अवस्था सिर्जना भएको छ। उनीहरूले पटक-पटक आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ समक्ष गुनासो राखे पनि कम्पनी रमिते भएर बसेको गुनासो गरेका छन् ।
पीडितहरूका अनुसार गाडी व्यवसाय गरेर आम्दानी गर्ने योजना बनाएका धेरै व्यक्ति अहिले किस्ता तिर्नसमेत समस्या पर्ने अवस्थामा पुगेका छन्। गाडी बिग्रिएर लामो समय ग्यारेजमा बस्दा आम्दानी रोकिएको उनीहरूको भनाइ छ।
नेपालमा टाटा बिक्रेता सिप्रदी ट्रेडिङ पछिल्लो समय सबैभन्दा बढी विवादमा तानिएको कम्पनी हो । टाटाका गाडीमा कैफियत देखिएपछि तत्कालीन बालेन नेतृत्वले सो कम्पनीलाई काठमाडौँ महानगरमा कालोसूचीमा राख्ने निर्णय गरेको थियो । सरकारको जग्गा हडपेकोसमेत आरोप लागेको कम्पनीको पछिल्लो प्रकरणले अव ती सवारीधनीहरुले बैंकको ऋण कसरी तिर्लान् भन्ने बहस सुरु भएको छ ।

