काठमाडौं । कर्णाली प्रदेशमा खेलकुद पूर्वाधार विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ। जुम्लामा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर स्थापना गर्न आवश्यक जग्गा औपचारिक रूपमा प्राप्त भएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालाई The Council of Gen Z का संयोजक प्रकाश खड्काले लालपुर्जा हस्तान्तरण गर्नुभएको हो।
पातारासी गाउँपालिका–३, लोठचौरमा रहेको ६ हजार १ सय २० वर्ग मिटर क्षेत्रफलको उक्त जग्गा लाउरो बोहरा, गोरबहादुर बोहरा र कुम्भर बोहराले उपलब्ध गराउनुभएको हो। उक्त कार्यक्रममा जुम्ला जिल्लाका खेलकुद प्रमुख कबिदत्त न्यौपाने लगायत सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। विशेष कुरा के छ भने, यो परियोजना २०७५ सालदेखि नै रोकिएको अवस्थामा थियो।
तर, प्रकाश खड्काले यसको पहल अघि बढाएपछि मात्र प्रक्रिया सक्रिय भई अन्ततः सफलतामा पुगेको हो। खड्काको सक्रियता र समन्वयका कारण लामो समयदेखि रोकिएको योजना पुनः जीवित भई कार्यान्वयनको चरणमा पुगेको छ। यससँगै कर्णाली क्षेत्रमा उच्चस्तरीय खेल प्रशिक्षण केन्द्र स्थापना हुने बाटो खुलेको छ, जसले स्थानीय मात्र नभइ राष्ट्रिय खेलाडीहरूको क्षमता विकासमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

