डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ। डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। चैत्र ११ गते बुधबार, एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो।

उक्त साधारण सभामा एशोसिएसनमा आवद्ध सदस्य विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो। अध्यक्ष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी सभाको औपचारिक शुभारम्भ गरेका थिए। साधारण सभाले आर्थिक वर्ष २०८१-८२ को कार्य समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ।

साथै, आर्थिक वर्ष २०८२-८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ। सभामा अध्यक्ष सुयोग श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समीक्षा अवधिमा एशोसिएसनद्वारा हासिल गरिएका निम्न मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए।

१. नीतिगत पैरवी अन्तर्गत नियामक विषयहरूमा विकास बैंकहरूको हितको प्रतिनिधित्व गर्दै आवश्यक नीतिगत सुधारका लागि पहल तथा सम्बन्धित निकायहरूसँग समन्वय

२. सदस्य बैंकहरूबीच समन्वय अभिवृद्धि गर्दै NFRS (ECL), goAML सञ्चालन निर्देशिका, धितो मूल्यांकन लगायतका विषयमा सरोकारवालासँग सहकार्य

३. सदस्य विकास बैंकहरूको मानव संसाधन तथा वित्तीय तथ्यांक व्यवस्थापन, अनुसन्धान तथा सूचना आदान–प्रदानका लागि सदस्य बैंकहरूको समीक्षा, सन्दर्भ, मूल्यांकन तथा निर्णय प्रक्रियामा उपयोग हुने गरी HR MIS तथा Finance MIS सफ्टवेयर विकास कार्य अघि बढाइएको, साथै Domestic PEPs -Politically Exposed Persons/High Ranking Officials सम्बन्धी डाटाबेस तयार गरी सदस्य बैंकहरूलाई उपलब्ध गराइएको

४. सदस्य बैंकहरूको आवश्यकता अनुसार विभिन्न तालिम, कार्यशाला तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको

५. एशोसिएसनको नयाँ कार्यालय निर्माण सम्पन्न गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको

हाल सेवा प्रदान गरिरहेका १७ विकास बैंकहरूमध्ये ८ राष्ट्रिय स्तरका र ९ क्षेत्रीय स्तरका रहेका छन्। विकास बैंकहरूले २०८२ साल माघ मसान्तसम्म १,१२६ शाखा र ३३९ एटीएममार्फत करिव ८० लाख ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएका छन्।

कार्यक्रममा वर्तमान परिवेशमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्दै विकास बैंकहरूले ग्राहकप्रति समर्पित रहँदै सेवा प्रवाह गरिरहेको उल्लेख गरिएको थियो। साथै, नियामक निकाय नेपाल राष्ट्र बैंकले विषम परिस्थितिमा समेत अभिभावकीय भूमिका निर्वाह गर्दै आर्थिक वातावरण सुदृढ बनाउन खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरिएको छ।

अध्यक्ष श्रेष्ठले प्रविधिमैत्री बैंकिङ प्रणाली अवलम्बन, सुशासन, व्यावसायिकता तथा पारदर्शितामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले सम्पूर्ण सदस्य बैंक, नियामक निकाय तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै विकास बैंकहरूको हितमा निरन्तर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, नयाँ वर्ष २०८३ मा सदस्य विकास बैंकहरू अझ सबल र सुदृढ भई व्यवसाय विस्तारमा उत्साहका साथ अघि बढून् भन्ने शुभकामना व्यक्त गरे ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै