सिटिजन्स बैंकद्वारा स्तन तथा प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम आयोजना

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक वेबिनार कार्यक्रम आयोजना गरेको छ। बैंकले आफ्ना कर्मचारीहरूको स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्धता व्यक्त गर्दै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक वेबिनार कार्यक्रम आयोजना गरेको हो ।

मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव (भारत) सँगको सहकार्यमा सम्पन्न यस कार्यक्रमको उद्देश्य क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्नु, आम भ्रमहरू हटाउनु तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउनु रहेको बैंकले जनाएको छ।

कार्यक्रमअन्तर्गत मंगलबार महिला कर्मचारीहरूका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार आयोजना गरिएको थियो। उक्त सत्रको सहजीकरण मेदान्त अस्पतालकी वरिष्ठ निर्देशक डा. कञ्चन कौरले गरेकी थिइन् ।

वेबिनारमा बैंकका ५१३ जना महिला कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकले जनाएको छ। बुधबार ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि “प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ” विषयक सचेतनामूलक सत्र सञ्चालन गरिएको थियो। उक्त सत्रको सहजीकरण मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले गरेका थिए । यस सत्रमा ५०९ जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

बैंकका अनुसार यी दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। सिटिजन्स बैंकले आगामी दिनमा पनि कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाहरूका लागि यस्तै जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

बैंकका कार्ड वाहक ग्राहकहरूलाई उपचारका क्रममा थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्