काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्।
अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि उनीहरू फरार भएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने दर्नालमाथि बैंकिङ कसुर मुद्दामा १ महिना १० दिन कैद र ४४ लाख ६३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने केसीमाथि चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो।
उनीहरूलाई आवश्यक कारवाहीका लागि सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौँडामा बुझाइएको प्रहरीले जनाएको छ।

