DISH HOME

गरिमा विकास बैंकले ‘रोड रेस’ आयोजना गर्दै, भाग लिन चाहनेले मंसिर ४ गतेसम्म रजिस्ट्रेशन गर्नुपर्ने !

काठमाडौँ। गरिमा विकास बैंकले गरिमा रोड रेस आयोजना गर्ने भएको छ। बैंकले १९औं वार्षिकोत्सवको अवसरमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा रोड रेसको दोस्रो संस्करण ‘गरिमा रोड रेस, २०८२’ आयोजना गर्न लागेको हो ।

बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेस प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ समेत ५ किलोमिटरको हुनेछ। गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेत समेट्ने उद्देश्यले भेट्रान विधा समेत थप गरिएको छ। करिब १ हजार जना प्रतियोगी सहभागी हुने अपेक्षा रहेको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही ५० हजार रुपैयाँ र कर्पोरेट र भेट्रान तर्फ जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

साथै, खुला तर्फ दोस्रो स्थान हासिल गर्नेले ३५ हजार रुपैयाँ तृतीय स्थान हासिल गर्नेले २० हजार, चौथो स्थान हासिल गर्नेले १५ हजार र पाँचौ स्थान हासिल गर्नेले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, कर्पोरेट र भेट्रान तर्फ दोस्रो स्थान हासिल गर्नेले जनही २० हजार तृतीय हुनेले १४ हजार, चौथो हुनेले १० हजार र पाँचौ हुनेले ७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।  बालुवाटार, काठमाडौं स्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय रहने भवन परिसरबाट शुरु हुने रोड रेस प्रतियोगिताको खुला तर्फको प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पून: सोही बाटो हुँदै बालुवाटार पुगेपश्चात समापन हुनेछ।त्यसैगरी कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पून: सोही बाटो बालुवाटार पुगे पश्चात समापन हुनेछ।

प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि विकास बैंकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत २० रूपैयाँ शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्नेछन्।  प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि विकास बैंकको कल सेन्टर ०१-५९७०१७९ मा समेत सम्पर्क गर्न सकिनेछ। गरिमा रोड रेस २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने विकास बैंकले विश्वास लिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै