काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपालमा पहिलो पटक आयोजना गरेको क्षेत्रीय ‘करेस्पोन्डेन्ट बैंकिङ एकेडमी’ सफलतापूर्वक सम्पन्न भएको छ । बैंकले नियामक निकाय र प्रमुख वित्तीय संस्थाहरूको सहकार्यमा यो कार्यशाला सम्पन्न गरेको हो । जसको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय बैंकिङ सञ्चालन सुदृढ पार्न, अनुपालन मापदण्ड सुधार गर्न र उत्कृष्ट वैश्विक अभ्यासहरू प्रवर्द्धन गर्नु रहेको थियो।
कार्यशालाको उद्घाटन बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणिन्द्र गौतमले गरेका थिए। उनले यस्ता कार्यक्रम नेपालमा आयोजना गर्नुको महत्त्व औँल्याउँदै क्षेत्रीय विशेषज्ञहरूलाई ल्याउने बैंकको पहलको प्रशंसा गरे। साथै, वित्तीय अपराध नियन्त्रणका लागि सरकार र वित्तीय क्षेत्रबीच प्रभावकारी समन्वयको आवश्यकता रहेको पनि बताए ।
काठमाडौंमा आयोजित दुई दिने कार्यक्रममा एसियन र दक्षिण एसियाका १५ देशबाट १३० भन्दा बढी प्रतिनिधिहरू सहभागी भएका थिए। सहभागीहरूमा केन्द्रीय बैंकका पदाधिकारी, नियामक निकायका प्रतिनिधि तथा बैंकिङ क्षेत्रका विज्ञहरू रहेका थिए।
कार्यक्रममा विशेषज्ञहरूले बैंकिङ र डिजिटल क्षमताहरूको प्रगतिबारे कार्यशाला, समूह छलफल र केस स्टडीहरूमार्फत जानकारी प्रदान गरे। जोखिम व्यवस्थापन, एन्टी-मनी लन्डरिङ, आतंकवादी वित्तीयकरणविरुद्धका उपाय, कानुनी कारबाहीका प्रक्रिया, सीमापार कारोबारमा देखिने चुनौतीहरू, वित्तीय सन्देश प्रणालीमा नवप्रवर्तन र विदेशी विनिमयसम्बन्धी विषयहरू प्रमुख छलफलका केन्द्रबिन्दु बने।
नेपालस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीईओ तथा हेड अफ कभरेज गोरख राणाले कार्यशालाको उद्देश्यबारे जानकारी दिँदै वित्तीय क्षेत्रलाई अझ पारदर्शी र सुरक्षित बनाउन एन्टी-मनी लन्डरिङलगायत विषयहरूमा चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
दुई दिने प्रशिक्षणमा क्यास प्रोडक्ट म्यानेजमेन्टका कार्यकारी निर्देशक चानी सिओङ, हेड अफ क्लाइन्ट एन्ड थर्ड पार्टी इन्टेलिजेन्सका कार्यकारी निर्देशक क्रिस फ्लेमिङ, एसियान र दक्षिण एसियाका हेड अफ स्यान्क्शन्स कम्प्लायन्स सेर्हाने भिक्टर, तथा एफसीसी एक्ट प्रमुख र एसीसी जोखिम विशेषज्ञ निर्देशक जयेश कदमले प्रशिक्षण सत्र सञ्चालन गरेका थिए।