काठमाडौँ। पछिल्लो समय नेपालमा प्रविधिको विकाससँगै मोबाइल वालेट प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढिरहेको छ। डिजिटल माध्यमबाट कारोबार गर्नु सजिलो र सुरक्षित मानिँदा मोबाइल वालेटजस्ता सेवाको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
तर, यो प्रवृत्तिसँगै वित्तीय अपराधको जोखिम पनि बढेको देखिन्छ। नेपाल प्रहरीको पछिल्लो तीन आर्थिक वर्षको विवरण अनुसार नेपालमा अनलाइन माध्यमबाट हुने वित्तीय अपराधहरू विस्तारै बढ्दै गएका छन्।
आर्थिक वर्ष २०७९-८० मा मात्र सामाजिक सञ्जाल, अनलाइन मोबाइल बैंकिङ, अनलाइन सपिङ, इसेवा, फोनपे लगायतका डिजिटल भुक्तानी प्लेटफर्म र लट्री जस्ता शीर्षकमा ४७ वटा वित्तीय अपराधसम्बन्धी उजुरी दर्ता भएका छन्।
प्रहरीले ती घटनामा संलग्न रहेको आरोपमा ६४६ जनालाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट १५ करोड ३ लाख ८४ हजार आठ सय रुपैयाँ बरामद गरेको जनाएको छ। यो तथ्यांकले डिजिटल कारोबारको साथसाथै साइबर सुरक्षामा सतर्कता अपनाउनु अपरिहार्य भएको देखाउँछ।