राष्ट्र बैंकमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी
नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले चैत २५ गते (सोमबार) ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएको हो।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम ढुंगानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिएका हुन्। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २२ गते सकिएको थियो।
एनआईसीमा अर्जुन खनियाँको ठाउँमा किन रञ्जन खड्का ? खनियाँले बैंक छोडेका हुन् ?
एनआईसी एशिया बैंकका सूचना अधिकारी अर्जुन खनियाँको जिम्मेवारी एकाएक रंजन खड्कालाई दिएको पाइएको छ । बैंकले आफ्नो वेव साइटमैसमेत बैंकको सूचना अधिकारी तथा प्रमुख गुनासो अधिकृतमा बैंकका एसीइओ रञ्जन खड्काको नाम राखेको छ ।
आखिर किन यस्तो गरियो ? कतै केही समय अगाडी हल्ला चलेजस्तो खनियाँले बैंक त छोडेनन् ? वा केहि समय अझ ठुलो हल्ला चलेको थियो- बैंकका सिइओले बैंक छोडेपछि काम गर्न भनेर फिनटेक कम्पनी संचालनको तयारी गरेका छन् र त्यसका लागि कहिले कसलाई कहिले कसलाई अमेरिका पठाईरहन्छन् । कतै यहि चर्चा चलेजस्तो खनियाँ अमेरिका गएका त होइनन् ?
बैंकले यस्तो जिम्मेवारी हेरफेर गर्दा निमित्तको ट्याग लगाउनुपर्ने हो । तर बैंकले त्यसो समेत गरेको छैन । यस विषयमा रंजन खड्का बोल्दैनन् । उनी खनियाँजस्तो मिडियालाई रेस्पोन्स पनि गर्दैनन् । पत्रकार भनेपछि त झन् हत्तपत्त बोल्दै बोल्दैनन् । सेन्चुरी कमर्सियल बैंकजस्तो झुर बैंकको स्कुलिङ्गपछि एनआईसी एशिया आएका उनको सम्बन्ध धेरै मिडियाकर्मीसँग सेन्चुरी हुँदादेखि नै राम्रो छैन । तर उनलाई बैंकले सूचना अधिकारीको जिम्मा दिएको छ । सुरुमा फोन उठाए पनि उनी कुरा सुनेपछि फोन काट्छन् र रेस्पोन्स गर्दैनन् । हामीले खनियाँको ठाउँमा तपाईं कसरी ? भन्ने जिज्ञासा राख्न खोज्दा पनि उनले यसै गरे । प्रश्न सुने, जवाफ दिनुपर्ने बेला फोन काटे ।
बैंकमा खनियाँ अमेरिका गएको गाइगुई छ । बैङ्कको कर्पोरेट कम्युनिकेसनमा काम गरेका एक कर्मचारीले पनि उनी अमेरिका गएको दाबी गरे । ‘निजी कामले हो वा सीइओ सरको कामले हो वा बैंकको कामले थाहा भएन । तर उहाँ युएस हुनुहुन्छ ।’ ती कर्मचारीले बैंकिङ संसार डटकमसँग भने । खनियाँ बिगत लामो समयदेखि एनआईसी एशियामा काम गरिरहेका अब्बल कर्मचारी मानिन्छन् । बैंकलाई निकै अफ्ट्यारो पर्दा पनि उनकै व्यवस्थापकीय क्षमताका कारण बैंक डुब्नबाट जोगिएको चर्चा स्वयम् राष्ट्र बैंकमा हुने गरेको छ । सायद उनी अमेरिका भएर नै होला, खनियाँको फोन भने अफ छ । खनियाँसँग सम्पर्क हुनेबित्तिकै हामी यस विषयमा फलोअप गर्नेछौँ । तर सूचना अधिकारी भन्ने तर सूचना नै नदिने, फोन उठाएर काटिहालने खड्काको रबैयाले बैंक कुनै पनि बेला दुर्घटनामा जान सक्छ भन्ने संकेत भने प्रष्ट पारेको छ ।
विदेशमा बसोबास गर्ने नेपालीलाई खाता खोल्न अब राष्ट्रिय परिचयपत्र अनिवार्य नपर्ने
विदेशमा रहेर बैंकिङ कारोबार गर्ने नेपाली नागरिकहरूका लागि सुखद समाचार छ । अब नेपालीहरुले अनलाइन माध्यमबाट नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्नका लागि तत्कालै राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।
नेपाल राष्ट्र बैंक ले हालै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रमा उल्लेख भएअनुसार, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक आधिकारिक कागजातका आधारमा खाता खोल्न सकिनेछ । यस अन्तर्गत पासपोर्ट, भिसा, वर्क पर्मिट, पीआर कार्ड, नागरिकता प्रमाणपत्र, रोजगारदाताबाट प्राप्त प्रमाणपत्र, र अन्य कानुनी कागजातहरूलाई प्रमाणको रूपमा प्रयोग गर्न सकिनेछ। यसले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, वा बसोबासका लागि विदेश गएका नेपालीहरूलाई सहजता पुर्याउने विश्वास गरिएको छ।
के अवको गभर्नरको कार्यकाल ३ बर्षको मात्र हुन लागेको हो ?
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसँग सम्बन्धित मापदण्ड परिवर्तन गरिएको विषयलाई लिएर अवको गभर्नरको कार्यकाल ३ बर्षको लागि मात्र हुने भन्ने हल्ला सुरु भएको छ । तर राष्ट्र बैंक ऐनले नै स्पष्ट गभर्नरको कार्यकाल ५ बर्ष भनेकाले कुनै मापदण्ड मार्फत सो व्यवस्था परिवर्तन नहुने तर्क जानकारहरुले राखेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १८ अनुसार, गभर्नर, डेपुटी गभर्नर तथा संचालक समितिका सदस्यहरूको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । यसैले, कुनै मापदण्डमार्फत उक्त व्यवस्था परिवर्तन गर्न नसकिने तर्क जानकारहरुको छ। अर्थ मन्त्रालयले हालै ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (दोस्रो संशोधन)’ जारी गरेको छ । तर, स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले तयार पारेको मापदण्ड राष्ट्र बैंकमा लागू हुने प्रश्न नउठाउने कारण गभर्नरको कार्यकला पूरापूर ५ बर्ष हुने ठम्याई कानुनका जानकारहरुको छ ।
वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढ्यो, विकास बैंकहरुको २.११ प्रतिशतले घट्यो !
वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा मात्र वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १.०७ प्रतिशतले बढेको हो।
फागुन महिनामा मात्रै ७ करोड ६६ लाख बराबरको गैरबैंकिङ सम्पत्ति थपिएको छ। हाल वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति कुल ३६ अर्ब बराबर पुगेको छ। तीन वर्षअघि ८ अर्ब रहेको यस्तो सम्पत्ति अहिले चार गुणाले बढेको छ । यता, विकास बैंकहरुको गैरबैंकिङ सम्पत्ति भने घटेको छ। फागुनमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति २.११ प्रतिशतले घटेको छ। विकास बैंकहरुले गैरबैंकिङ सम्पत्ति ३ अर्ब ५० करोडमा झारेका छन्।
महालक्ष्मी विकास बैंकले घर कर्जा दिने !
महालक्ष्मी विकास बैंकले घर कर्जा दिने भएको छ । बैंकले नयाँ वर्षको अवसरमा घर किन्न, बनाउन र अपार्टमेन्ट खरिद गर्नका लागि कर्जा दिने भएको हो । जसको ब्याजदर ७.९९ प्रतिशत रहनेछ । यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ ।
साइबर ब्यूरोको चेतावनी: अनलाइन ठगीबाट सचेत रहन आग्रह
पछिल्लो समय सामाजिक सञ्जालमार्फत बैंक वालेट प्रयोगकर्तालाई ठगी गर्ने घटनामा वृद्धि भएपछि साइबर ब्यूरोले सतर्क रहन आग्रह गरेको छ।
ब्यूरोले अवैध लिंक नखोल्न, व्यक्तिगत विवरण नसेयर गर्न र अनजान सफ्टवेयर मोबाइल वा ल्यापटपमा इन्स्टल नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार लोन भुक्तानी वा सेयर तालिमका नाममा लिंक पठाएर ठगी गर्ने प्रयास भइरहेका छन्। ब्यूरोले यस्तो घटना धेरै बढेपछि सतर्क रहन आग्रह गरेको हो।