काठमाडौँ । ममता (नाम परिवर्तन)को मोबाइलमा एउटा फोन आउँछ । ‘तपाईं बैंकमा जागिर खोजिरहनु भएको हो ?’
ममता जवाफ फर्काउँछिन- ‘त्यसो भए भोलि विहान १० बजे कुमारी बैंकको न्युरोड शाखामा आउनू । तपाईंको इन्टरभ्यु यता हुन्छ ।’
ममता बैंकको शाखामा पुग्छिन् । तर उनलाई जागिर खान बोलाइएको थिएन, बरु अर्का एक बैंकका सिनियर कर्मचारीले गरेको यौन दुर्व्यवहार बारे बोले अब राम्रो नहुने भन्दै थर्काउन बोलाइएको थियो, र सो काममा कुमारी बैंकको शाखा प्रयोग भएको थियो ।
आफूलाई केस दबाउन कुमारी बैंकको दुरुपयोग गरेको पाइएपछि ममता प्रहरीकहाँ पुगिन्, र जाहेरी दिइन् । त्यसपछि प्रहरीले दुर्व्यवहारमा संलग्नलाई पक्राउ गर्यो ।
तर यति हुँदा पनि सो दिन बैंकको शाखाको कमाण्ड सम्हालेका ब्रान्च मेनेजरलाई कुनै कारवाही भएन । बरु बैंकका सिइओले दुर्व्यवहार गर्ने व्यक्तिसमेत आफ्नो चिनजानकै मान्छेको संरक्षणमा रहेको व्यक्ति भएको भन्दै सामान्य सोधपुछ गरेर त्यसै छोडिदिए । यति मात्र होइन, उनले यस विषयमा थप छानविन गर्न आवश्यक नरहेको भन्दै यो केसमा संलग्न सम्भावितहरुलाई उन्मुक्ति दिए ।
तर, सो दिन कुमारी बैंककै शाखामा बोलाएर, बाहिर लगेर महिलालाई हातपातको प्रयास भएको पाइएको छ । यस विषयमा जाहेरीसमेत पर्दा पनि बैंक नबोल्नुलाई रहस्यमय रुपमा हेरिएको छ ।
यस विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा बैंकका सिइओ रामचन्द्र खनाल आफ्नो फोन सम्पर्क हुन नसक्ने बनाएर बसेका छन् । न्युरोड ब्रान्चका एक कर्मचारीले भने घटना घटेको पुष्टि गरे पनि यौन दुर्व्यवहारमा संलग्न कर्मचारी भने अर्कै बैंकको कर्मचारी रहेको खुलासा गरेका छन् ।