काठमाडौँ । एनएमबि बैंकका कर्मचारीले विदेशी पर्यटकलाई दुर्व्यवहार गरेको पाइएको छ । बैंकको पोखरास्थित लेखनाथ शाखाका ब्रान्च मेनेजर जीवन नाथ बरालले विदेशी पर्यटकलाई दुर्व्यवहार गरेको पाइएको हो ।
ब्रान्च मेनेजर बरालले चर्चित ट्राभल भ्लगर ‘द लस्ट जोए’ माथि पोखरामा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पोखरामा भ्लगिङ गरिरहेका उनीमाथि बरालले पिकनिक स्पटमा दुर्व्यवहार गरेको उक्त भिडियोमा प्रस्ट देखिन्छ । ‘द लस्ट जोए’ ले युट्युबमा सार्वजनिक गरेको उक्त भिडियोमा उनी पिकनिक स्पटमा पुग्छन् । सोही बेला उनलाई पिकनिकमा सहभागी केहीले खाना दिन्छन् । उनी पनि खुसीखुसी खाना खान्छन् ।
तर, केहीबेरमा मदिराले मातेका एनएमबि बैंकका ब्रान्च मनेजेर बराल आउँछन् र उसलाई खाना दिएबापत पैसा नलिए धर्ना बस्ने चेतावनी दिन्छन् । त्यसको केही समयपछि उनी फेरि आउँछन् र ‘अनुमतिबिना मेरो भिडियो किन खिचिस् ?’ भन्दै भ्लगरमाथि दुर्व्यवहार गर्छन् । यतिसम्म कि ती भ्लगरले दुःखी हुँदै आफूले पिकनिकमा खाएको खानाको पैसा समेत दिन खोजेको भिडियोमा देखिन्छ । हाल बरालले भ्लगर साथै विदेशी पर्यटकमाथि गरेको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
यसो त विदेशी पर्यटकलाई सम्मान र स्वागत गर्नू नेपालीको संस्कार मात्र होइन, दायित्व पनि हो । तर, बैंकको ब्रान्च मेनेजरजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिले विदेशी पर्यटकलाई दुर्व्यवहार गर्नू अमानवीय गतिविधि भएको भन्दै हाल बरालले सामाजिक सञ्जालमा चौतर्फी गाली पाइरहेका छन् ।
अर्कोतर्फ ‘द लस्ट जोए’ले सार्वजनिक गरेको भिडियोमा नेपालीहरुले उक्त व्यवहारका लागि माफी मागिरहेका छन् ।