PRABHU BANK

एनआईसी एशिया बैंकद्वारा श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय उद्धघाटन

काठमाडौँ । एनआईसी एशिया बैंकले बागमती प्रदेशको चितवन जिल्ला स्थित राप्ती नगरपालिका ७ मा अवस्थित श्री वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय उद्धघाटन गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेको पुस्तकालय भवनहरु मध्ये उक्त विद्यालयको पुस्तकालय उद्धघाटन गरेको हो।

विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गर्ने प्रमुख उद्देश्यले सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकको सहयोगमा पुस्तकालय भवन निर्माण गरी उक्त विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

उक्त पुस्तकालय उद्धघाटन समारोहमा सोही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुमिता डल्लाकोटी, एनआईसी एशिया बैंक बागमती प्रदेश १, २, ४ र ५ का प्रमुख दिलिप डाँगी र बागमती प्रदेश, २ का उपप्रमुख रामकृष्ण काफ्ले तथा सम्बन्धित विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो । पुस्तकालय सञ्चालनमा आएसँगै विद्यालयका झन्डै १०५० विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरु उक्त पुस्तकालयबाट प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

बैंकले यसअघि लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका ४ छपिया अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुल, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका १ मा अवस्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्ला स्थित बन्दिपुर गाउँपालिका १ मा अवस्थित श्री पवित्रा माध्यमिक विद्यालय, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित जोशीपुर गाउँपालिका १ मा अवस्थित श्री मोहन्याल माध्यमिक विद्यालय, कोशी प्रदेशको झापा जिल्ला स्थित बुद्धशान्ती गाउँपालिका २ मा अवस्थित श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका ३ मा अवस्थित श्री गौरीगञ्ज माध्यमिक विद्यालयमा निर्माण गरिएका पुस्तकालयको समुद्घाटन भई सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण भइसकेका छन् ।

यता मधेश प्रदेशको पर्सा जिल्ला स्थित वीरगञ्ज महानगरपालिका १४ मा अवस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाको लागि सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिसकेको छ । बैंकले उल्लेखित पुस्तकालय भवनहरु निर्माणका लागि कुल २ करोड ५ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

उक्त पुस्तकालय भवनहरु निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै