काठमाडौँ । ज्योति विकास बैंकले कर्णालीका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत कर्णालीका ५ विभिन्न स्वास्थ्य चौकीहरूमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र शिशुलाई हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो ।
बैंकले जुम्ला, कालिकोट, मुगु र दैलेख जिल्लामा रहेका विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरलाई उक्त उपकरण उपलब्ध गराएको छ ।
हाइपोथर्मियाको कारण नवजात शिशुको अकालमा मृत्यु हुन नदिन र जीवनरक्षा गर्न विभिन्न बर्थिङ सेन्टरहरूमा उक्त मेसिन जडान गरेको बैंकले जनाएको छ ।
देशका विभिन्न ठाउँमा ४३ वटा बेवी वार्मर प्रदान गरेको बैंकले यस पटक भने भौगोलिक रूपले विकट क्षेत्रहरूमा उक्त उपकरण जडान गरेको हो । मेसिनहरू जडान पश्चात त्यहाँका बर्थिङ सेन्टरमा प्रसूति सेवा लिन आउने हरूले लाभ लिन सक्ने छन् ।