prabhu

देव विकास बैंकमा रामेश्वर थापाको पाँच करोडको किर्ते भौचर काण्ड



काठमाडौं – विभिन्न पेसा र व्यवसायमा संलग्न रामेश्वर थापाले देव विकास बैंकको पोखरा शाखाका प्रमुखसँगको मिलेमतोमा पाँच करोड २० लाख रुपैयाँको किर्ते भौचरकाण्ड गरेका छन् । थापाले उक्त बैंकमा रकम जम्मा गरिदिएको नक्कली भौचर दिएर शिवप्रसाद बाँस्तोला र उनकी श्रीमती गीता श्रेष्ठ बाँस्तोलाको नाममा रहेको जग्गा जालसाजी र तिकडमबाजी गरेर आफ्नो कम्पनीको नाउँमा नामसारी गरेका छन् । बाँस्तोलाकै नामको जग्गा अर्को बैंकमा राखेर करोडौं रुपैयाँ कर्जा लिएर बाँस्तोलाका श्रीमानश्रीमतीका नाउँमा अरु बैंकमा भएको कर्जा तिरेर आफ्नो एक रुपैयाँ पनि खर्च नगरी बाँस्तोलाकै सम्पत्ति बैंकमा धितो राखेर बाँस्तोलाकै नाउँमा भएका सीमित कर्जा तिरेर फोकटमै बाँस्तोलाको जग्गा आफ्नो नाउँमा नामसारी गराएका छन् । त्यसपछि बाँस्तोलाले भेट्न खोज्दा कहिले प्रधानमन्त्री केपी ओलीसँग मिटिङमा जानुपर्ने भएकाले फुर्सद नभएको त कहिले नेकपाका अध्यक्ष प्रचण्डसँग मिटिङ गर्नुपर्ने भएकाले फुर्सद नभएको सन्देश दिएर बाँस्तोलासँग भेटवार्ता पनि गरेका छैनन् । उक्त घटना हेर्दा मुलुकको दुई विकास बैंकको मिलेमतोमा मिडिया मालिकले नक्कली भौचर दिएर करोडौंको जग्गा आफ्नो नाममा पारेको पाइएको छ । सो काण्डमा कैलाश विकास बैंकपनि मुछिएको छ । राजधानीमा मुख्य कार्यालय रहेको देव विकास बैंकसँगको मिलोमतोमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष तथा सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका शिव प्रसाद बाँस्तोलाको २० करोड मूल्य पर्ने जग्गा आफ्नो एक रुपैयाँ पनि खर्च नगरी जालसाजी गरेर आफ्नो नाउँमा नामसारी गराएका छन् ।


उनीहरुले नक्कली भौचर देखाएर एक वाणिज्य बैंकबाट ११ करोड रुपैयाँ ऋण समेत लिएको पाइएको छ । गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका स्थायी घर भएका बाँस्तोलाले वेगनाश ताल किनारको उक्त जग्गा अन्नपूर्ण मिडिया नेटवर्कको नाममा रामेश्वर थापाले ठगी गरेको बताएका छन् । उक्त जग्गा पोखराकै एक सहकारीमा दृष्टिबन्धकी राखिएको थियो । थापाकै उपस्थितिमा गत असोज १७ गते बुधबार बसेको अन्नपूर्ण ब्रोडकास्टिङ प्रालिको बैठकले कम्पनीको नाममा जग्गा खरिद गर्ने निर्णय गरेको थियो । ‘यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लि.ले आफ्नो व्यवसाय विस्तारको क्रममा आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि विभिन्न ठाउँमा फिल्ड भिजिट तथा सम्भाव्यता अध्ययनपश्चात् श्रीमती गीता श्रेष्ठ तथा श्री शिव प्रसाद बाँस्तोलाको नाममा पोखारा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लि.को नाममा (टेलिभिजन सबस्टेसन) बनाउन जम्मा रु ११,००,००,०००।–) एघार करोड रुपैयाँमा खरिद गर्ने निर्णय सर्वसम्मतले पारित गरियो’, बैठकको निर्णयमा भनिएको छ, ‘यस कम्पनीको तर्फबाट सो कागजातमा हस्ताक्षर गर्न यस कम्पनीको कर्मचारी श्री निरज श्रेष्ठलाई अख्तियारी दिने निर्णय सर्वसम्मतले पारित गरियो ।’


अचम्म त के छ भने ११ करोडमा खरिद गरिएको जग्गालाई बैंकले ११ करोड नै ऋण दिएको छ । ‘जग्गा नै बेच्ने सम्झौता भएको होइन । यो जग्गा बेच्दा त्यतिबेलाको बजार भाउ नै १८ देखि २० करोडको हाराहारीमा थियो,’ बाँस्तोलाले भने,‘जग्गा फुकुवा गर्ने भएपछि त्यति ठूलो मिडिया चलाउने मान्छेसँग अरु पनि कारोबार हुन्छ भनेर दिएँ । बैंकहरुले मलाई बदमासी गरे ।’जग्गापास हुनुअघि नै थापाले निरज श्रेष्ठमार्फत ५ करोड १० लाख मात्रै दिए । बाँस्तोलाले पाउनुपर्ने ५ करोड ९० लाख थियो । तर, त्यो रकम दिनुको सट्टा बैंकसँगको मिलेमतोमा नक्कली भौचर दिए । सोही भौचरको विश्वासमा बाँस्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिको नाममा जग्गापास गरिदिए । ‘जग्गापास भएपछि निरज श्रेष्ठ मालपोत कार्यालयबाटै भागे’, बाँस्तोलाले भने । प्राप्त भौचरअनुसार २०७५ कात्तिक २० गते शिव प्रसाद बाँस्तोलाको नाममा देव विकास बैंक पोखरा शाखामा रहेको खाता नम्बर १०११३२०१४५७००२ मा अन्नपूर्ण ब्रोडकास्टको तर्फबाट निरज श्रेष्ठले एउटा वाणिज्य बैंकको ०००३४३१५१७२१०१ नम्बरको चेकमार्फत १ करोड ४० लाख रुपैयाँ रकम जम्मा गरिदिएको देखिन्छ । 


त्यस्तै गीता श्रेष्ठको नाममा रहेको देव विकास बैंकको खाता नम्बर १०११३२००१११००५ नम्बरमा अन्नपूर्ण ब्रोडकास्टिङ मिडिया प्रालिका तर्फबाट निरज श्रेष्ठले एउटा वाणिज्य बैंकको चेक नम्बर ०००३४३१५१६२१०१ को ३ करोड ८५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । यो भौचरबाट पनि गीताले खातामा एक रुपैयाँ पनि पाइनन् । यी त सबै रामेश्वर थापाको ठगी गर्ने चालपो रहेछ । ‘बैंकिङ भाषामा यस्तो भौचरलाई नक्कली भौचर भनिन्छ । ‘यो चेक निरज श्रेष्ठजी नै आउनुभयो र फिर्ता लानुभयो’, देव विकास बैंकका पोखरा शाखा प्रमुख दीपक ढुङ्गानाले भने,‘यसरी लैजान मिल्छ । उहाँहरुको कारोबार हामीलाई थाहा भएन ।’ त्यति मात्रै कहाँ हो र १ अर्को ठूलो एमाउन्टको समेत नक्कली भौचर नै तयार पारेको पाइएको छ । अन्नपूर्ण ब्रोडकास्ट मिडियाकै नामबाट खातावाला गीता श्रेष्ठको नाममा कैलाश विकास बैंकको पोखरास्थित तालचोकमा रहेको शाखाको खातामा २०७५ कात्तिक १८ गते प्रभु बैंकको ३ करोड ४५ लाखको चेक जम्मा भएको देखिन्छ । तर, उक्त भौचर समेत नक्कली भएको पाइएको छ । भौचरको स्लिप बाँस्तोलालाई पठाए पनि उनले पाउनुपर्ने रकम भने पाएनन् । यस्तो विषयमा कैलाश विकास बैंकले मुख खोलेको छैन । त्यस्तै कात्तिक १८ गते नै गीता श्रेष्ठकै पोखरास्थित कैलाश विकास बैंकको खातामा अन्नपूर्ण ब्रोडकास्ट मिडियाको तर्फबाट एउटा बैंकमा २ करोड ३० लाख रुपैयाँको चेक जम्मा गरेको देखिएको छ ।


बाँस्तोलाको अनुसार उक्त डिपोजिट स्लिपअनुसार पनि उनीहरुले पैसा भने पाएका छैनन् । यस विषयमा शाखा प्रमुख अधिकारीलाई सम्पर्क गर्दा उनले जवाफ दिन चाहेनन् ।


(आर्थिक दैनिकबाट)

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै