काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८३ भदौ मसान्तसम्मको अन्तरिम वासलात विवरण सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ भदौ मसान्तसम्मको अन्तरिम वासलात विवरण अनुसार राष्ट्र बैंकको कुल सम्पत्ति ४० खर्ब ४४ अर्ब ७ करोड रुपैयाँ नाघेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्र बैंकको कुल सम्पत्ति ३८ खर्ब ७४ अर्ब ९८ करोड रुपैयाँ थियो । सो विवरण अनुसार राष्ट्र बैंकको कुल सम्पत्तिमा विदेशी मुद्राको हिस्सा सबैभन्दा ठूलो छ । भदौ मसान्तसम्म राष्ट्र बैंकमा विदेशी मुद्रा सम्पत्ति ३८ खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
यता वैदेशिक प्रतिभूतिमा लगानी २७ खर्ब ४३ अर्ब ३३ करोड, विदेशी बैंकमा मुद्दती निक्षेप ६ खर्ब ३९ अर्ब ७४ करोड, गोल्ड सर्टिफिकेट्समा लगानी २ अर्ब ५३ अर्ब ९७ करोड, नगद तथा बैंक मौज्दात २ खर्ब ४४ अर्ब ३० करोड र आईएमएफ सम्बन्धी सम्पत्ति १८ अर्ब ४४ करोड रहेको छ ।
राष्ट्र बैंकको स्थानीय मुद्रा सम्पत्ति भदौ मसान्तसम्ममा १ खर्ब ४४ अर्ब २९ करोड रहेको छ । जस अन्तर्गत मुख्य रूपमा सुन तथा चाँदी सम्पत्ति ९१ अर्ब ६७ करोड, सरकारी ऋणपत्रमा लगानी ११ अर्ब ६४ करोड, तथा डिबेन्चर र मुद्दती निक्षेपमा लगानी १२ अर्ब ४० करोड रहेको छ ।
नेपाल राष्ट्र बैंकको चुक्ता पुँजी ५ अर्ब रहेको छ भने बैंकको जगेडा कोषमा अघिल्लो असार मसान्तको १० खर्ब ८५ अर्ब ७३ करोडबाट वृद्धि भई भदौ मसान्तमा ११ खर्ब १० अर्ब २० करोड पुगेको छ ।



