काठमाडौँ। आपराधिक समूहहरूले अनौपचारिक बैंकिङ तथा रकम स्थानान्तरणका सञ्जालको दुरुपयोग गर्ने क्रम विश्वभर बढ्दै गएको वित्तीय कारबाही कार्यदल (FATF) ले जनाएको छ। मनी लाउन्डरिङ तथा आतंकवादी वित्तीय गतिविधि नियन्त्रणका लागि काम गर्दै आएको एफएटीएफले अपराधीहरूलाई अवैध रकम स्थानान्तरण र लुकाउन सहयोग गर्ने व्यावसायिक सञ्जालविरुद्ध सरकार तथा व्यवसायहरूले थप कडा कदम चाल्नुपर्नेमा जोड दिएको छ।
एफएटीएफका अनुसार हवाला तथा यस्तै अनौपचारिक रकम स्थानान्तरण प्रणाली पछिल्लो समय आपराधिक गतिविधिमा व्यापक रूपमा प्रयोग भइरहेका छन्। यस्ता प्रणालीमा परम्परागत बैंक तथा नियमनमा रहेका वित्तीय संस्थाको सट्टा एजेन्टमार्फत रकम स्थानान्तरण गरिन्छ।
एफएटीएफले भूमिगत बैंकिङ तथा एचओएसएसपी आधारित मनी लाउन्डरिङ झन् व्यवस्थित र व्यावसायिक बन्दै गएको जनाएको छ। कतिपय सञ्जाल अत्याधुनिक व्यवसायजस्तै संरचनामा सञ्चालन भइरहेको उसको भनाइ छ।
पहिले यस्ता सञ्जाल मुख्यत: लागुऔषध कारोबार, तस्करीजस्ता अपराधबाट प्राप्त नगद रकमलाई शुद्धीकरण गर्न प्रयोग हुने गरेकोमा अहिले यसको प्रयोग ठगी, साइबर अपराध, आतंकवादी वित्तीय गतिविधि, गैरकानुनी गेमिङ तथा जुवा र संगठित अपराधबाट आएको रकम सीमापार सार्नसमेत भइरहेको एफएटीएफले जनाएको छ।
रिपोर्टले वकिल, लेखापाल, अडिटर, परामर्शदाता तथा घरजग्गा व्यवसायी जस्ता व्यावसायिक सेवा प्रदायकहरू पनि कतिपय अवस्थामा आपराधिक सञ्जाललाई अवैध वित्तीय कारोबार गर्न वा लुकाउन सहयोगी बन्न सक्ने चेतावनी दिएको छ।
प्रविधिको विकासले यस्ता भूमिगत वित्तीय सञ्जाललाई पहिचान गर्न थप चुनौतीपूर्ण बनाएको एफएटीएफको निष्कर्ष छ। इन्क्रिप्टेड सञ्चार, वित्तीय प्रविधि, पहिचान लुकाउने उपकरण तथा क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगले अपराधीहरूलाई रकम छिटो स्थानान्तरण गर्न र कारोबारको स्रोत तथा गन्तव्य पत्ता लगाउन कठिन बनाउन सक्ने बताइएको छ।
एफएटीएफका अनुसार केही भूमिगत बैंकिङ तथा मनी लाउन्डरिङ सञ्जाल अब सामान्य आपराधिक समूहजस्तो मात्र नभई विशेषीकृत सेवा प्रदान गर्ने व्यवस्थित र व्यावसायिक संरचनाका रूपमा विकास भइरहेका छन्। यस्ता सञ्जालले आफ्ना ग्राहकका लागि अवैध रकम स्थानान्तरण तथा लुकाउने विशेष सेवासमेत उपलब्ध गराउने गरेको एफएटीएफले जनाएको छ।


