काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले जी बजारलाई ‘बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ’ लैजानुपर्नेमा जोड दिएका छन्। उनले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
अध्यक्ष अग्रवालले बैंकिङ प्रणालीमा मात्र निर्भर अर्थतन्त्रलाई क्रमश: ‘बैंक बेस्ड’ बाट ‘मार्केट बेस्ड फाइनान्सिङ’ तर्फ रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले भने, ‘पुँजी बजारलाई केवल सेयर र सेक्युरिटिज कारोबारको माध्यम नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्दछ भन्ने धारणा राख्न चाहन्छु । बैंकिङ प्रणालीमा मात्र निर्भर अर्थतन्त्रलाई ‘बैंक बेस्ड’ बाट ‘मार्केट बेस्ड फाइनान्सिङ’ तर्फ क्रमिक रूपान्तरण गर्दै जानुपर्ने आजको आवश्यकता छ । निजी क्षेत्रलाई उत्पादन र रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी सहज रूपमा उपलब्ध गराउन सके मात्र पुँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न सक्छ ।’
निजी क्षेत्रलाई उत्पादन तथा रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी सहज रूपमा उपलब्ध गराउन सके मात्र पुँजी बजारले नेपालको आर्थिक रूपान्तरणमा अपेक्षित भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ छ । अग्रवालले विगतमा दूरदर्शी नीतिको अभावका कारण नेपालको सेयर बजारमा सट्टेबाजी कारोबारले प्रश्रय पाएको बताए । विशेषगरी बैंक तथा वित्तीय संस्थाका सेयरमा रहेको डबल आईएसआईएन व्यवस्थाले बजारमा एउटै सेयरको मूल्यमा ठूलो अन्तर सिर्जना गरेको उनले उल्लेख गरे ।
‘एउटै सेयर, प्रतिफल एउटै तर डबल प्राइसिङ हुँदा दुवैको मूल्यमा ५० प्रतिशतसम्म फरक देखियो। यसले लगानीकर्तामा भ्रम र अविश्वास सिर्जना गर्नुका साथै वास्तविक बजार मूल्य निर्धारणमा अन्योल बढायो,’ उनले भने ।
डबल आईएसआईएन हटाउने प्रयास विगतमा नेपाल राष्ट्र बैंकबाट भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण लगानीकर्तामा पर्ने देखिएपछि कार्यान्वयन हुन नसकेको उनले बताए ।


