भोटेकोशी बाढी प्रभावित नागरिकको खोज, उद्धार र तत्काल राहतका लागि ग्लोबल आइएमई बैंकले ५ करोड सहयोग गर्ने

काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गर्ने भएको छ। बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुन:स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

बैंकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो ।

बाढीका कारण कैयौं नागरिकको ज्यान गएको, धेरै जना बेपत्ता भएको तथा सयौं परिवार विस्थापित भएको बैंकले जनाएको छ । बाढीले बस्ती, पुल, सडक तथा जलविद्युत् आयोजनामा समेत ठूलो क्षति पुर्याएको बैंकको भनाइ छ ।

बैंकका अनुसार सहयोग रकम बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावित नागरिकलाई खाद्यान्न तथा अस्थायी बासको व्यवस्था र क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गर्न लागिएको हो ।

बैंकले विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ । बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्मा बैंकले सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्