कुमारी र प्राइम कमर्सियल बैंकलाई राष्ट्र बैंकको कारबाही, निर्देशन उल्लंघनमा सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा नियामकीय निर्देशन पालना नगरेको भन्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले दुवै बैंकलाई विभिन्न निर्देशन उल्लंघन गरेको निष्कर्षसहित सचेत गराएको हो।

राष्ट्र बैंकका अनुसार कुमारी बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थासँग सम्बन्धित बैंकिङ कारोबारसम्बन्धी व्यवस्था कार्यान्वयन नगरेको पाइएको छ। राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन–२०८१ मा कालोसूचीमा रहेका व्यक्ति वा संस्थाले सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै बैंकिङ कारोबार गर्न नपाउने स्पष्ट व्यवस्था भए पनि त्यसको पूर्ण पालना नभएको पाइएको हो।

यसरी नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१)(क) बमोजिम कुमारी बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले पनि राष्ट्र बैंकको निर्देशनअनुसार कर्जाको वर्गीकरण तथा जोखिम व्यवस्थापनसम्बन्धी प्रावधान पालना नगरेको भेटिएको छ। निरीक्षणका क्रममा बैंकले केही कर्जालाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौताको अवस्थाअनुसार आवश्यक कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provision) कायम नगरेको तथा क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१५ अनुसार जोखिम भार गणना नगरेको राष्ट्र बैंकको निष्कर्ष छ।

यी कमजोरीका आधारमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२)(क) बमोजिम प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्