लक्ष्मी सनराइज बैंकमा राष्ट्र बैंकको कारबाही, वित्तीय व्यवस्थापकलाई १० लाख जरिवाना, सीईओलाई चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै लक्ष्मी सनराइज बैंक लिमिटेड (साबिक लक्ष्मी बैंक लिमिटेड) माथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनअनुसार बैंकका तत्कालीन वित्तीय व्यवस्थापकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराइएको छ।

राष्ट्र बैंकका अनुसार बैंकले एकीकृत निर्देशन, २०७९ विपरीत आधार दर (Base Rate) गणना गर्दा सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चसमेत समावेश गरेको थियो। साथै, Capital Adequacy Framework, 2015 विपरीत केही कर्जाको जोखिम भार वास्तविकभन्दा कम देखाएर पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) गणना गरेको पाइएको छ।

निरीक्षणका क्रममा बैंकका एक प्रतिशतभन्दा बढी शेयर भएका संस्थापक शेयरधनी राजेन्द्रकुमार खेतानसँग सम्बन्धित ऋणीलाई प्रवाह गरिएको १२ करोड रुपैयाँ कर्जामध्ये करिब ११ करोड ४४ लाख रुपैयाँ शेयरधनीकै खातामा स्थानान्तरण गरी प्रयोग गरिएको पनि भेटिएको राष्ट्र बैंकले जनाएको छ। उक्त कारोबार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था विपरीत रहेको निष्कर्ष निकालिएको छ।

यस्तै, बैंकले शेयरधनीको खातामा रकम स्थानान्तरण भएको देखिए पनि त्यसको समयमै प्रभावकारी अनुगमन नगरी कर्जालाई नियमित अवस्थामै कायम राखेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

यी कमजोरीका आधारमा नेपाल राष्ट्र बैंकले तत्कालीन वित्तीय व्यवस्थापक राजेन्द्रकुमार खेतानलाई १० लाख रुपैयाँ जरिवाना गरेको छ। साथै, नियामकीय व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै