काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै कुमारी बैंक लिमिटेड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) माथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनमा दुवै बैंकका विभिन्न कमजोरी औँल्याउँदै सम्बन्धित पदाधिकारीमाथि कारबाही गरिएको उल्लेख छ।
प्रतिवेदनअनुसार कुमारी बैंकले कर्जा जोखिम वर्गीकरण, जोखिम भार निर्धारण तथा Capital Adequacy Framework, 2015 सम्बन्धी व्यवस्था पालना नगरेको पाइएको छ। साथै, सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि विपरीत ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा सुविधासम्बन्धी मार्गदर्शनविपरीत तत्कालीन सीईओसँग सम्झौता गरी कार्यसम्पादन नगरेको १३ महिनापछि पनि २ करोड ३ लाख रुपैयाँ पारिश्रमिक तथा सुविधा भुक्तानी गर्ने निर्णय गरेको थियो। उक्त रकम असुलउपर गर्न निर्देशन दिइए पनि हालसम्म असुल नभएको प्रतिवेदनमा उल्लेख छ।
यी कमजोरीका आधारमा नेपाल राष्ट्र बैंकले कुमारी बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। साथै, अनियमित रूपमा भुक्तानी गरिएको रकम असुलउपर गर्न सञ्चालक समितिलाई निर्देशन दिएको छ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले कमलादी शाखाबाट खोलिएको प्रतितपत्र (Letter of Credit) लाई बैंककै अर्को शाखाबाट पुष्टि (Confirm) गरी त्यसकै आधारमा Promissory Note जारी गरेको र लाभग्राहीबाट करिब ४७ करोड ३६ लाख रुपैयाँ बराबरको Bills Purchase गरी कर्जाको रूपमा देखाएको राष्ट्र बैंकले जनाएको छ।
प्रतिवेदनअनुसार उक्त प्रतितपत्रको Maturity Date पटक–पटक थप्दै कर्जालाई २०८१ चैत मसान्तसम्म ‘Evergreen Loan’ का रूपमा निरन्तर कायम राखिएको थियो। यसरी कर्जालाई असल कर्जाका रूपमा देखाउँदै एकीकृत निर्देशन विपरीत कार्य गरेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले एनआईएमबीका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।



