स्वतन्त्र सञ्चालकको नियुक्ति र आधारदरमा अनधिकृत परिवर्तन गरेको भन्दै सप्तकोशी डेभलपमेन्ट बैंकका सञ्चालक समिति र सीईओलाई राष्ट्र बैंकको चेतावनी

काठमाडौं। नेपाल राष्ट्र बैंकले कानुनी तथा नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कारबाही गरेको छ। वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै दुवै पक्षलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराएको जनाएको छ।

राष्ट्र बैंकका अनुसार बैंकको स्थलगत निरीक्षणका क्रममा स्वतन्त्र सञ्चालकको पहिलो कार्यकाल समाप्त भइसकेपछि पनि उनलाई सञ्चालक समितिको बैठकमा निरन्तर सहभागी गराई निर्णय प्रक्रियामा संलग्न गराइएको पाइएको थियो। उक्त कार्य बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १५ विपरीत भएको निष्कर्ष निकाल्दै सञ्चालक समितिलाई भविष्यमा यस्ता गतिविधि नदोहोर्याउन चेतावनी दिइएको हो। साथै कानुनविपरीत नियुक्त गरिएको स्वतन्त्र सञ्चालकलाई तत्काल हटाई सोको जानकारी राष्ट्र बैंकलाई गराउन निर्देशन समेत दिइएको छ।

त्यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि आधारदर (Base Rate) गणनासम्बन्धी कार्यविधि, २०७६ विपरीत Core Banking System मार्फत एकै महिनामा पटक–पटक आधारदर परिवर्तन गरेको पाइएपछि सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ। निरीक्षणका क्रममा आधारदर गणनामा अपनाइएको प्रक्रिया बैंकको आन्तरिक निर्देशन तथा नियामकीय व्यवस्थासँग मेल नखाएको निष्कर्ष निकालिएको छ।

राष्ट्र बैंकले यस प्रकरणमा आर्थिक जरिवाना भने नलगाई सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराउने निर्णय गरेको हो।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै