ग्राहक संरक्षण कोषको रकम दुरुपयोग गरेको भन्दै मुक्तिनाथ विकास बैंकका अध्यक्ष, सञ्चालक समिति र सीईओलाई राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक लिमिटेड का सञ्चालक समिति, सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत (Warning) गरेको छ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास अवधिको कारबाही विवरणअनुसार बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० अन्तर्गत सचेत गराइएको हो।

राष्ट्र बैंकका अनुसार बैंकले विपन्न वर्ग कर्जाका ग्राहकबाट उठाइएको शुल्कबाट ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम कम्पनी ऐन, २०६३, ग्राहक संरक्षण कोष सञ्चालन कार्यविधि, २०७७ तथा संस्थागत सुशासनको मर्म र भावना विपरीत प्रयोग गर्ने निर्णय गरेको थियो।

उक्त रकम ऋणी ग्राहक समुदायको सामूहिक हितसँग सम्बन्धित नभएको अन्य प्रयोजनमा खर्च गरिएको र पछि रकम फिर्ता गरिए पनि त्यसबारे आवश्यक सावधानीका साथ जानकारी नगराइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले यस्तो निर्णयले निक्षेपकर्ता तथा सर्वसाधारणको हितमा प्रतिकूल असर पर्न सक्ने ठहर गर्दै बैंकका सञ्चालक समिति, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै