सम्पत्ति शुद्धीकरणसम्बन्धी कमजोरीमा राष्ट्र बैंकको कारबाही, मुक्तिनाथ विकास बैंकलाई १० लाख जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (Anti-Money Laundering–AML) सम्बन्धी ऐन तथा एकीकृत निर्देशन उल्लङ्घन गरेको ठहर गर्दै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्समाथि कारबाही गरेको छ।

बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक सुपरिवेक्षण प्रतिवेदनअनुसार मुक्तिनाथ विकास बैंकलाई १० लाख रुपैयाँ नगद जरिवाना गरिएको छ भने गरिमा विकास बैंक र रिलायन्स फाइनान्सका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराइएको छ।

राष्ट्र बैंकका अनुसार मुक्तिनाथ विकास बैंकले वास्तविक धनी (Beneficial Owner) पहिचान गर्ने संरचना स्थापना नगरेको तथा ग्राहकसम्बन्धी निरन्तर निगरानी (Ongoing Due Diligence) सम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नगरेको पाइएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी एकीकृत निर्देशन, २०८० बमोजिम १० लाख रुपैयाँ जरिवाना गरिएको हो।

यस्तै, गरिमा विकास बैंकका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठ र अन्य व्यक्तिको संयुक्त खातामा बिमा कम्पनी स्थापना गर्ने उद्देश्यले संकलन गरिएको रकम जम्मा भएको तथा त्यस्तो कारोबारमा आवश्यक निगरानी र जोखिम नियन्त्रणका प्रक्रिया प्रभावकारी रूपमा पालना नभएको राष्ट्र बैंकले जनाएको छ। संस्थागत सुशासन तथा सञ्चालकको आचरणसम्बन्धी व्यवस्था कमजोर देखिएको र प्रमुख कार्यकारी अधिकृतले समेत पर्याप्त अनुगमन नगरेको ठहर गर्दै सञ्चालक र सीईओलाई सचेत गराइएको छ।

त्यसैगरी, रिलायन्स फाइनान्सका सञ्चालक कुशप्रसाद मल्ल तथा अन्य व्यक्तिसँग सम्बन्धित संयुक्त खाताबाट व्यवसायिक कारोबार भएको, ती खाताको ग्राहक पहिचान तथा Customer Due Diligence (CDD) समयमै अद्यावधिक नगरिएको तथा संस्थागत सुशासन र अनुगमन कमजोर रहेको पाइएपछि सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था, ग्राहक पहिचान, कारोबारको निगरानी तथा संस्थागत सुशासन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित संस्थाहरूलाई निर्देशन दिएको छ।

MUKTINATH BIKAS BANK

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै