काठमाडौँ। असार मसान्त नजिकिंदै गर्दा बैंकमा काम गर्ने कर्मचारीको घर जाने समय रातको १ बजेसम्म हुन थालेको छ । सहमति विना थप काम गर्न नपाइने र अतिरिक्त काम लगाए थप पारिश्रमिक दिनुपर्ने राष्ट्र बैंकको नियम भए पनि कतिपय बैंकहरुले सो नियम नमानी थप काम लगाइएको पाइएको हो ।
आइतबार विदाको दिन भए पनि कतिपय बैंकहरुले क्लोजिङ भन्दै आइतबार पनि कार्यालय बोलाएको पाइएको छ । कतिपय बैंकहरुले राष्ट्र बैंकको नियम अनुसार सहमतिमै थप पारिश्रमिक दिएर त कसैले विना सहमति थप पारिश्रमिक पनि नदिने गरी काममा बोलाएको पाइएको हो ।
यतिसम्मकी असार मसान्त नजिकिंदै गर्दा बैंकका कतिपय कर्मचारीहरुले आफैं पैसा खोजेर ऋणीको किस्ता तिरिदिईरहेको पाइएको छ ।
विशेषगरी पोखरा, नेपालगंज, भैरहवा लगायतका ठाउँमा यस्ता केसहरु बढेको पाइएको छ । कर्जालाई असल देखाउन थुप्रै बैंकरहरुले यस्तो काम गर्नु बाध्यता भएको बताएका छन् ।
असार मसान्त नजिकिदै गर्दा ऋण नतिरेका ऋणीहरु मोबाइल नै अफ गरेर बस्ने क्रम ह्वात्तै बढेको छ । असार मसान्त नजिकिदै गर्दा ऋण तिर्न ताकेता गर्दा धेरै ऋणीहरुले मोबाइल फोन नै अफ गरेको गुनासो बैंकरहरुको छ । ऋणीहरुले पनि रहरले नभई बाध्यताले यस्तो गर्ने गरेको बताउने गरेका छन् ।

