काठमाडौँ। रास्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय ऋणीहरूले आन्दोलन गरेका छन्। जेनेजी आन्दोलनका क्रममा हराएको भनिएको १८ किलो सुनको विषयलाई लिएर पीडित पक्ष र सरोकारवालाहरूले वाणिज्य बैंकको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा पीडित ऋणीहरूहरूले सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूले लामो समय बितिसक्दा पनि सुन फिर्ता नपाएको र दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि नबढेको भन्दै आक्रोश व्यक्त गरेका थिए।
प्रदर्शनका कारण केही समय कार्यालय क्षेत्र तनावग्रस्त बनेको थियो। सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
प्रदर्शनकारीहरूले आफूहरू पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। पीडित परिवार तथा आन्दोलनका अगुवाहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, हराएको भनिएको सुनको अवस्था स्पष्ट पार्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेलको अवस्था सिर्जना भए पनि स्थिति नियन्त्रणबाहिर भने गएको थिएन। प्रदर्शनमा सहभागीहरूले ‘हाम्रो सुन कहाँ छ ?’, ‘पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाएका थिए। उनीहरूले छानबिन प्रक्रिया पारदर्शी बनाउन र पीडितको क्षतिपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
एक जना पिडितले भने, ‘हामीले न्यायको प्रतीक्षा गरिरहेका छौं। आन्दोलनका क्रममा हराएको हाम्रो सम्पत्ति फिर्ता होस्, दोषीमाथि कारबाही होस् ।’
प्रदर्शनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएका छन्।



