काठमाडौँ। नेपाल राष्ट्र बैंकले जलेका, च्यातिएका वा नष्ट भएका नोट सटहीमा कडाइ गरेको छ । अब ठूलो परिमाणमा यस्ता नोट साट्न स्थानीय तह वा प्रहरीको सिफारिस अनिवार्य हुने भएको हो ।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार नोट डढ्नुको कारण खुल्ने मुचुल्का वा सिफारिस बिना सटही प्रक्रिया अघि बढाइने छैन ।
राष्ट्र बैंकका अनुसार आगोले जलेका, किराले खाएका, पानीले भिजेका, च्यातिएका वा अन्य कारणले चलनचल्ती अयोग्य भएका नोटहरू ‘नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९’ अनुसार साट्न सकिन्छ। यस्ता नोटहरू राष्ट्र बैंकमा दावी पेश गरेर साट्नुपर्नेछ।
तर, डिजाइन मेटिएको, पचास प्रतिशतभन्दा कम भाग बाँकी रहेको, अत्यधिक विकृत वा पहिचान गर्न नसकिने नोट साट्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
त्यस्तै, आगलागी वा अन्य दैवी प्रकोपबाट नष्ट भएका नोट साट्न स्थानीय तह वा प्रहरी कार्यालयको सिफारिस अनिवार्य हुने व्यवस्था पनि रहेको राष्ट्र बैंकले जनाएको छ।

