काठमाडौँ । बैंकका ४ जना सिनियर हाकिमहरुको फोटो राखेर, ‘तिमी हरामखोरहरुले मलाई मार्यौ’ लेखेर बैंकर पिताम्बर खड्काले प्राण त्यागे । यो घटना जति संवेदनशील छ, त्यो भन्दा बढी संवेदनशील छ बैंकरहरुले भोगिरहेको नमिठो पीडा । पिताम्बर त बितेर गयो, उसले प्राण त्याग्यो । यहाँ बैंकिङ क्षेत्रमा थुप्रै पिताम्बरहरु छन्, जो न बाँच्न सकेका छन्, न मर्न ।
काम नगरौँ, अप्राइजल हुन्न । अप्राइजल नभए प्रमोसन हुन्न, प्रमोसन नभए तलव र पद बढ्दैन । यति नभए बैंकिङमा प्रगति हुँदैन । काम गरौँ, सयौँ काम गर्दा कतिपय त्रुटी हुन्छ । क्लाइण्टको व्यवहार बिग्रिन्छ, व्यवसायमा समस्या आउँछ । अनि, पैसा उसले तिर्दैन, तनाव बैंकरमाथि थोपरिन्छ । हिजो लोनको टार्गेट दिएर तनाव दिईयो, आज त्यहि लोन उठाउ भनेर टार्गेट र प्रेसर दिईन्छ । हिजो रिस्क लिएर भए पनि बिजनेश बढाउ भनियो, आज त्यहि ऋण किन उठेन भनेर प्रश्न गरिन्छ । हिजो जसरी पनि ऋण नबढाए अप्राईजल रोकिन्छ, आज त्यहि ऋण उठेन भनेर, पर्फर्मेन्स भएन भनिन्छ । अनि एउटा विचरा बैंकरले के गरोस् ?
बैंकले नै हिजो सिकाएको थियो, क्लाइण्टसँग नजिक रहनु, साथीजस्तो व्यवहार गर्नु, अरु बैंकको क्लाइण्ट भए पनि खोस्नु, ऋणीलाई आफ्नो बनाउनु । ऋणीले ब्याज तिर्न नसकेपछि त्यहि बैंकले हिजो भन्यो, आफैँले खोजेर भए पनि किस्ता तिर्नु, निष्क्रिय कर्जा नदेखाउने टार्गेट छ । आज तिमीले तिर्नु, पछि उसले तिमीलाई नै फिर्ता गर्ला । मिलन त नमिल्ने हो, तर एनपीएल घटनाउने प्रेसर छ । अनि आज, हाकिमलाई कर्मचारी मन नपर्न थालेपछि भन्न थालियो, उसँग कारोबार किन गरेको ? उसले तिम्रो खातामा हाल्दिएको पैसा केका लागि हो ? तिमीले त घुस खायौ कि क्या हो ? हिजो क्लाइण्टलाई नजिक बनाएर व्यापार गर्नु तर ऋण बढाउनु भनेको बैंकले आज सोधिरहेको छ, ‘ऋण दिएको क्लाइण्टसँग किन नजिक भएको ? तिमीले पिएको चियाको पैसा उसले तिरेछ, तिमीलाई बैंकबाट कारवाही किन नगर्ने ? अनि बिचरा एउटा बैंकरले के गरोस् ? के यो न्याय भयो ?
पिताम्बर खड्का एउटा राम्रा बैंकर थिए । कतै पनि करियरमा दाग नलागेको भएकै कारण उनलाई ज्योति बिकास बैंकबाट ग्लोबल आईएमई बैंक बोलाइयो । उनी शाखा प्रबन्धक हुँदा उनलाई अजीवको टार्गेट दिईयो, जुन उसले पूरा गरेको थियो । बैंकले नै भनेको थियो, क्लाइण्टसँग साथीजस्तो व्यवहार गर्नू, आपटसापट भएर पनि किस्ता तिर्नु । क्लाइण्टलाई कहिलेकाहीं गाह्रो पर्यो भने पैसा खोजेरै किस्ता हाल्न लगाउनु, खोज्न सहयोग गरिदिनु। तर, एनपीएल बढाउनु भएन । बैंकले जसरी पनि व्यवसाय बढाउनु भनेपछि, बैंकले नै सिकाएका केहि गलत काम गर्न उ बाध्य भयो । परिणाम, उसको क्लाइण्टसँगको कारोबार देखियो । तर पछि त्यहि गलत काम गरेको भन्दै उसलाई स्पष्टिकरणमात्र सोधिएन, शाखा प्रबन्धकको रुपमा रहेको उसलाई २ तह घटुवा गरेर प्रदेश पठाइयो । यतिमात्र गरिएन, उसलाई ३ महिनापछिको समय राखेर राजिनामा दिन लगाइयो । यस्तो बेला उसको मनमा के बित्यो होला ? भर्खरका छोराछोरी छन्, कमाउने उ नै थियो, ३ महिनापछि मेरो जागिर जाँदैछ भन्ने थाहा पाउँदा यो तीन महिना उ कसरी राती सुत्यो होला ? २ तह घटुवा गरेर अन्त जागिरमा जानुपरेपछि उसले आफुलाई कसरी सम्हाल्योहोला । उसले ‘मैले गल्ती गरेको छैन भनेर कहाँ कहाँ मात्र गुहारेन ? अनामिका सिंहलाई भेट्न खोज्यो, सीइओलाई बुझाउन खोज्यो, असिस्टेन्ट सीइओसँग हार गुहार माग्यो, डेपुटी सीइओलाई पनि आफ्ना कुरा भन्न खोज्यो । तर उसलाई कसैले सुनेन । त्यसपछि उसले के गरोस् ? अर्को जागिर खाउँ, ट्रयाक रेकर्ड बिग्रेको छ, सुनिदिने कोहि छैन, अरु काम गरौँ, बैंकिङ गरेरै ४२ वर्षको भईसकियो, आफ्नै व्यापार गरौँ पूँजी छैन । नखाएको बिष लागेको छ, नगरेको कामको बात लागेको छ । एउटा असल बैंकरका लागि यो भन्दा बिकराल स्थिति के हुन सक्छ ? तर उसलाई कसैले सुनेन । पिताम्बरलाई जे गल्ती गरेको भनेर बैंकबाट निकाल्ने काम भयो, त्यस्तो काम गर्ने बैंकरको संख्या ग्लोबल आईएमई बैंक भित्र मात्र २०० बढी होलान् । अव के सबैलाई मर्न बाध्य बनाउने हो ?
ग्लोबल आईएमई बैंकमा बैंकरहरु निराश भएर कुरा गरिरहेका छन्- आज साथी मर्दा, उसलाई प्रेसर दिएर मर्न बाध्य बनाईदा पनि हामी बोल्न सकेका छैनौँ । फेरि, भोलि अर्को साथी बित्ला, फेरी नबोल्ने ? हामी त निरिह भयौँ । नबोलौं, साथीको आत्माले सराप्लाजस्तो ऐठन भईसक्यो, बोलौं, उसलाई जे कारणले बैंकले मर्न बाध्य बनाइयो, हाम्रा स्टेटमेन्टहरुमा पनि त्यसै गरिएको भेटिन्छ, बैंकले नै सिकाएको गलत बाटोले हामी फस्यौँ । काम नगरौँ गर्नुपर्ने छ, गरौँ, पिताम्बरले माथिबाट बोलाउने दिन धेरै टाढा छैन जस्तो लाग्छ । यति निरीह त कोहि नहोस् ।
ग्लोबल आईएमई बैंकका कर्मचारीहरु निराश भएर गफिन्छन्- बैंकले सब मिलाउँछ, सीइओ पक्राउ पर्दैनन्, अरु सिनियरहरुलाई पनि बयानको यसो औपचारिकता मात्र हुन सक्छ । हिजो शालिकराम पुडाशैनीले प्राणत्याग गर्नु अघि बोलेका शब्दकै कारण रवि लामिछाने पक्राउ परेका थिए, तर हाम्रा सीइओ र अरु सबै यसपाली जोगिनेछन् । अस्ति भर्खर पनि अर्को बैंकमा यस्तैगरी बैंकका कर्मचारी मर्दा, ती साथीको श्रीमतीलाई जागिर दिएर केस मिलाएछन् । यति सस्तो हुनुपर्ने हो र बैंकरको जिन्दगी ? अनि हामीलाई चाहिं बैंकबाट निकाल्नुपर्यो भने कानुनका अनेक दफा जोडेर जे गरे पनि हुने, आज एउटा कर्मचारीले किटानी गरेको मान्छेलाई समात्नुनपर्ने ? के यो न्याय हो ?
एउटा बैंकरको ज्यान गएको छ, उसले नाम नै किटान गरेर आफुलाई मार्नेहरुको फोटो सार्वजनिक गरेको छ । तर बोल्ने वाला कोहि छैन । न मिडिया बोल्छन्, न राष्ट्र बैंक । न कर्मचारी युनियन, न अधिकारकर्मी । न राजनीतिमा यसको चर्चा छ, न मानव अधिकारको क्षेत्रमा । के हामी बैंकरको कोहि छैन ? के यो देश हाम्रो पनि होइन ? सरकार, ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्का त एउटा उदाहरण मात्र हो । यहाँ थुप्रै जिउँदै मरेका पिताम्बरहरु छन्, उनीहरुलाई जोगाऊ ।
-ग्लोबल आईएमई बैंकमा कार्यरत एक कर्मचारी


