नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा घट्यो, खराब कर्जा ७.९० प्रतिशत पुग्यो, ईपीएस ९.४५ रुपैयाँ कायम !

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको हो।

बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४३.०५ प्रतिशतले घटेको छ। समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६२ करोड १० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँले ऋणात्मक थियो।

बैंकको सञ्चालन मुनाफा २ अर्ब ४० करोड २१ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब ४ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा ४०.५९ प्रतिशतले कम हो। दोस्रो त्रैमाससम्म बैंकले ६ अर्ब ६२ करोड ३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ३६ करोड ५१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। बैंकको ब्याज आम्दानी १२.८३ प्रतिशतले घटेको छ।

त्यस्तै, चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ ३ अर्ब ६२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भमा ३५ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँले ऋणात्मक थियो भने रिजर्भमा ३३ अर्ब ३० करोड ८५ लाख रुपैयाँ थियो। समीक्षा वर्षसम्म बैंकले ५ खर्ब १९ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २८ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले ४ अर्ब ७२ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

यता समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ७.९० प्रतिशतमा पुगेको छ भने बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ९.४५ रुपैयाँ कायम भएको छ।  पीई रेसियो २०.२० गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै