काठमाडौँ। मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो २८औं शाखा काठमाडौँको थापाथलीस्थित आफ्नै भवनमा सञ्चालनमा ल्याएको छ । फाइनान्सले केन्द्रीय कार्यालय आफ्नै भवनमा स्थानान्तरण गरेपछि बिहीबारदेखि सोही भवनबाट थापाथली शाखाको सेवा औपचारिक रूपमा सुरु गरेको हो ।
हालसम्म २७ वटा शाखा र एक एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको मञ्जुश्री फाइनान्सले ग्राहकहरूसँग अझ नजिक पुग्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
थापाथली शाखा सञ्चालनमा आएसँगै राजधानी क्षेत्रमा फाइनान्सको पहुँच थप सुदृढ हुने विश्वास कम्पनीले लिएको छ ।पुस मसान्तसम्म मञ्जुश्री फाइनान्सले २४ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी २०.०३ रुपैयाँ रहेको छ ।

