काठमाडौँ। नबिल बैंकको ४१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१-८२ को मुनाफाबाट सेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, बैंकको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण पश्चात उनले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
चालु आर्थिक वर्ष २०८२-८३ मा बैंकले रु ५ अर्ब (प्रतिकित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता) बराबरको ‘नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नयाँ पुँजी उपकरण जारी गरेको छ । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ ।
देशभर नबिल बैंकले २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ ।



