काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरुको मनोबल झन गिराउने काम गरेको बताएका छन् ।बुधबार नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र: कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
विगत एक दुई वर्षदेखि नै पैसा भएरपनि देशमा लगानी नभएको अवस्थामा जेनजी आन्दोलन भएको भन्दै त्यसले झन धेरै व्यापारीको मनोबल गिराउने काम गरेको बताए ।
उनले भने, ‘विगत एक दुई वर्षदेखि नै पैसा थियो तर लगानी भइरहेको थिएन । व्यापारीहरुको मनोबल गिर्दै गइरहेको थियो । त्यसको लागि चाहिने जुन बिगपुस छ त्यो भइराखेको थिएन । हामी आफैले पनि ठूलो लगानीहरु आकर्षित गर्न सकिराखेका थिएनौं । जुन जुन कुराले अर्थतन्त्रलाई गति दिन्थ्यो जुन पोलिसी रिफर्महरु चाहिन्थ्यो जसले लगानी बढाउन सक्थ्यो त्यो भएको थिएन । त्यो अवस्थामा जेनजी आन्दोलनको घट्ना भयो । यसले एक हदमा त्यो मनोबल झन गिराउने काम गरेको छ ।’
त्यस्तै, उनले लगानी काठमाडौंमा मात्र बढि केन्द्रीत भएको भन्दै सबै क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखेका छन् ।


