prabhu

बैंकहरूबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा घट्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा मामुली रूपमा घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २ अर्ब ९३ करोड (०.१ प्रतिशत) ले घटेर ५४९५ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको सोही अवधिमा भने यस्तो कर्जा १४ अर्ब ११ करोड रुपैयाँ (०.३ प्रतिशत) ले वृद्धि भएको थियो ।

यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा २०८२ साउन मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले वृद्धि भएको छ । सो अवधिमा बैंक तथा वित्तिय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थातर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत कर्जा प्रवाह भएको छ । गत वर्षको सोही अवधिमा यी अंश क्रमश: ६३.४ प्रतिशत र ३६.६ प्रतिशत रहेका थिए ।

कर्जाको धितो संरचनाको हिसाबले हेर्दा चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) सुरक्षणमा १४.८ प्रतिशत र घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत कर्जा रहेको छ । गत वर्ष यिनको हिस्सा क्रमश: १३.३ प्रतिशत र ६६.३ प्रतिशत थियो ।

क्षेत्रगत हिसाबले हेर्दा पहिलो महिनामा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ०.८ प्रतिशत, निर्माण क्षेत्रमा ०.६ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ०.५ प्रतिशतले वृद्धि भएको छ । यद्यपि थोक तथा खुद्रा व्यापार क्षेत्रमा ०.५ प्रतिशत, सेवा उद्योग क्षेत्रमा १.५ प्रतिशत र उपभोग्य क्षेत्रमा ०.०४ प्रतिशतले कर्जा घटेको देखिन्छ ।

यस्तै, कर्जाको प्रकारगत संरचनामा आवधिक कर्जा ०.२ प्रतिशत, मार्जिन कर्जा २.७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा १.१ प्रतिशत र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.३ प्रतिशतले बढेको छ । तर, हायर पर्चेज कर्जा ०.१ प्रतिशत, नगद प्रवाह कर्जा ०.९ प्रतिशत र अधिविकर्ष कर्जा ३.२ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै