DISH HOME

देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने साम्बालाई ‘भण्डारी राष्ट्रिय गौरव सम्मान’ सम्मान

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) लाई भण्डारी सेवा समाज नेपालले भण्डारी राष्ट्रिय गौरव सम्मानद्वारा कृतज्ञता व्यक्त गरेको छ। नौमती पञ्चेबाजासहित भदौ १४ गते शनिबार भव्य समारोहकाबीच दोसल्ला, नगद र आजीवन सदस्यता प्रदान गर्दै उनलाई सम्मान गरिएको हो।

सम्मान ग्रहणपछि साम्बाले भनिन्, ‘फुटबल मेरो मात्र सपना होइन, सम्पूर्ण नेपाली युवतीहरूको सम्भावनाको प्रमाण हो। मैले मोजाको भकुण्डो बनाएर फुटबल सिकेँ, त्यसैले आज म भन्छु—रुचि र मेहनत भएमा छोरी मान्छेले पनि जुनसुकै उचाइ छुन सक्छ।’

साम्बाको जीवन यात्रा

लम्जुङको बाँसबारीमा जन्मिएकी साम्बाले गाउँको धुलो–माटोमै फुटबल खेल्न थालेकी थिइन्। साधारण परिवारमा हुर्केकी उनले सुरुमा खेलका लागि आवश्यक स्रोत र साधनको ठूलो अभाव झेल्नुपर्‍यो। तर उनको लगनशीलता र अदम्य इच्छाशक्तिले उनलाई नेपाली फुटबलकै पहिचान बनाइन्।

अहिले उनी युरोपका प्रतिष्ठित फुटबल क्लबहरूसम्म खेल्न पुगेकी छिन्। नेपाली राष्ट्रिय टिमकै कप्तानको रूपमा उनले देशलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान दिएकी छिन्। युवाहरूका लागि साम्बा आज प्रेरणाको स्रोत बन्न पुगेकी छिन्।

भण्डारी सेवा समाजको भनाइ

समाजका केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीले साम्बाले भण्डारी समुदाय मात्र होइन, सम्पूर्ण राष्ट्रकै इज्जत राखेको भन्दै प्रशंसा गरे। प्रमुख संरक्षक जीवन भण्डारीले उनलाई नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मानित गरे। कार्यक्रममा समाजका संस्थापक अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायत पदाधिकारीहरूले पनि साम्बाको संघर्ष र उपलब्धिलाई ऐतिहासिक भन्दै बधाई दिए।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै