काठमाडौं । ललितपुरस्थित रुपिज इन्टरनेशनल स्कुलको आर्थिक कारोबारमा ठगी गरेको आरोपमा प्रहरीले ३९ वर्षीय क्षितिज श्रेष्ठलाई पक्राउ गरेको छ। श्रेष्ठ स्कुलको लेखा शाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए।
उनले नबिल बैंकमा रहेको स्कुलको खाताबाट अनधिकृत रूपमा १४ लाख ८० हजार रुपैयाँ निकासी गरी सम्पर्कविहीन भएका थिए। प्रहरीले जानकारी दिएको छ कि श्रेष्ठले स्कुलको खातामा रहेको खाली चेकमा मिति, नाम, अंक तथा अक्षर भरेर चेक सटही गरी रकम निकालेर फरार भएका थिए। उक्त खाली चेकमा रुपेन्द्र कौरले हस्ताक्षर गरेका थिए।
काठमाडौं जिल्ला अदालत बबरमहलले २०८२ साउन १५ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ताहाचल क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।
श्रेष्ठलाई आपराधिक विश्वासघात र ठगी सम्बन्धी मुद्दामा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।