काठमाडौं । हिमालयन बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा वृद्धि भए पनि वितरणयोग्य मुनाफा अझै ऋणात्मक रहेको जनाएको छ।
विवरणअनुसार, बैंकले समीक्षा वर्षमा १ अर्ब ५१ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब २३ करोड ८३ लाख रुपैयाँको तुलनामा २२.१५ प्रतिशतले बढी हो। तर, वितरणयोग्य मुनाफा भने ७ अर्ब १० करोड १५ लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो वर्ष पनि यो रकम ७ अर्ब ४४ करोड १५ लाख रुपैयाँ ऋणात्मक थियो।
सञ्चालन मुनाफा ८८.४१ प्रतिशतले बढेर ५ अर्ब ४३ करोड ६४ लाख रुपैयाँ पुगेको छ। तर ब्याज आम्दानी भने ९.९९ प्रतिशतले घट्दै १० अर्ब ४५ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ऋणात्मक रहँदा रिजर्भ २३ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २२ अर्ब ४० करोड ७९ लाख रुपैयाँभन्दा बढी हो।
समीक्षा अवधिमा बैंकले ३ खर्ब ९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। खराब कर्जा अनुपात (एनपीएल) ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ।
वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६.९८ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५.७२ रुपैयाँभन्दा बढी हो। पीई रेसियो ३३.९८ गुणा र प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ।