काठमाडौं । एनएमबि बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ।
प्रकाशित विवरणअनुसार, बैंकले समीक्षा वर्षमा ३ अर्ब २८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब २४ करोड ४३ लाख रुपैयाँको तुलनामा ४६.२२ प्रतिशत बढी हो। वितरणयोग्य मुनाफा १ अर्ब ९० करोड ९४ लाख रुपैयाँ पुगेको बैंकले १०.४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।
सञ्चालन मुनाफा पनि ६४.४६ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड २ लाख रुपैयाँ पुगेको छ। बैंकको ब्याज आम्दानी ८ अर्ब २ करोड ८ लाख रुपैयाँ रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ११.१४ प्रतिशतले वृद्धि हो।
बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ९ करोड ३८ लाखको ऋणात्मक अवस्थाबाट सुधार हुँदै १ अर्ब ९० करोड ९४ लाखमा पुगेको छ भने रिजर्भ १० अर्ब ६९ करोड ८६ लाखबाट बढेर १२ अर्ब ३२ करोड ५५ लाख रुपैयाँ भएको छ।
समीक्षा अवधिमा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २९ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो क्रमशः २ खर्ब २३ अर्ब ९४ करोड र १ खर्ब ९४ अर्ब ३० करोड रुपैयाँ थियो।
खराब कर्जा अनुपात (एनपीएल) भने १.३५ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२.२२ रुपैयाँबाट बढेर १७.८७ रुपैयाँ पुगेको छ भने पीई रेसियो १५.१० गुणा र प्रतिशेयर नेटवर्थ १७६.८१ रुपैयाँ कायम भएको छ।