काठमाडौं । देशभरका बैंक तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेपमध्ये झण्डै ६३ प्रतिशत बागमती प्रदेशका जनताले मात्रै राखेको तथ्यांक सार्वजनिक भएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार २०८१ पुस मसान्तसम्म बागमती प्रदेशका जनताले बैंकहरूमा कुल ४४ खर्ब ७४ अर्ब ६० करोड रुपैयाँ निक्षेप गरेका छन्।
हाल बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको कुल ७० खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा त्यसको ठूलो हिस्सा बागमती प्रदेशको मात्रै हो। अघिल्लो वर्षको तुलनामा बागमती प्रदेशको निक्षेपमा ७।९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
त्यसैगरी कर्जा लिनेमा पनि बागमती प्रदेश अगाडि देखिएको छ। पुस मसान्तसम्म बागमती प्रदेशमा ३२ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन देशभर प्रवाहित ६३ खर्ब ३ अर्ब रुपैयाँ कर्जाको करिब आधा हो।
सेवा क्षेत्र बागमतीमा कर्जा प्रवाहको मुख्य क्षेत्र बनेको छ, जहाँ १९ खर्ब २२ अर्ब रुपैयाँ कर्जा गइसकेको छ। यसमध्ये १० खर्ब ८९ अर्ब रुपैयाँ काठमाडौं जिल्लामै प्रवाहित भएको छ। औद्योगिक क्षेत्रमा ११ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ भने काठमाडौंमा मात्रै त्यसको १४ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा पुगेको छ।
कृषि क्षेत्रमा भने कर्जा प्रवाह तुलनात्मक रूपमा निकै कम छ -बागमती प्रदेशमा जम्मा १ खर्ब २० अर्ब रुपैयाँ, जसमा काठमाडौंमा मात्रै ५८ अर्ब रुपैयाँ कर्जा प्रवाहित भएको छ। यसरी, कर्जा र निक्षेप दुवैका आधारमा बागमती प्रदेश देशको आर्थिक केन्द्रको रूपमा स्पष्ट रूपमा देखिएको राष्ट्र बैंकको अध्ययनले पुष्टि गर्छ।