काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त गरेको हो ।
लामो समयको विवादपछि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका हुन्। उनी अर्थशास्त्री र शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्ति हुन्।
यसअघि उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको रूपमा कार्य गरेका थिए। उनको शैक्षिक योग्यता शाङ्घाईबाट इन्जिनियरिङमा स्नातक र क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि र स्रोत अर्थशास्त्रमा स्नातकोत्तर र पीएचडी समावेश छ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर छनोट समितिले पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगाना तिमिल्सिना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईलाई राखेको थियो। समितिको सिफारिसमा आधारित रहेर मन्त्रिपरिषद्ले डा. पौडेललाई गभर्नरको रूपमा नियुक्त गरेको हो।