काठमाडौं । सांसद रोशन कार्कीले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया निष्पक्ष र पारदर्शी नदेखिएको आरोप लगाउँदै यसको लिलामीजस्तो अवस्था सिर्जना भएको बताएकी छन्।
बुधबार प्रतिनिधिसभामा बोल्दै सांसद कार्कीले गभर्नर बन्ने दौडमा करोडौं रुपैयाँको चलखेल भइरहेको चर्चा आफूले सुनेको उल्लेख गरिन्। ‘गभर्नर पदका लागि लिलामीको बोलकबोल तीन करोड रुपैयाँसम्म पुगेको भन्ने हल्ला व्यापक छ,’ उनले भनिन्।
उनले यसअघि महिला राष्ट्रपतिदेखि सभामुख र प्रधानन्यायाधीशले जिम्मेवार र सफल कार्यकाल पूरा गरेको उल्लेख गर्दै, राष्ट्र बैंकको कार्यवाहक गभर्नर नीलम ढुंगानालाई स्थायी गभर्नर नियुक्त गर्न आग्रह गरिन्।
‘५२ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी योग्य महिला नेत्रीलाई गभर्नर बनाउनु न्यायपूर्ण हुनेछ,’ उनले भनिन्। कार्कीले योग्य-अयोग्यको बहसभन्दा माथि उठेर महिला नेतृत्वलाई स्वीकार गर्न सरकार र सम्बन्धित निकायसँग अपिल गरेकी छन्।