काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले गभर्नर नियुक्तिको विषयमा सरकारलाई कडा आलोचना गरेका छन्। उनले गभर्नर छनोट प्रक्रिया राजनीतिक प्रभाव र स्वार्थ समूहको नियन्त्रणमा रहेको आरोप लगाएका छन्।
पुनका अनुसार, गभर्नर नियुक्तिको विषयले अहिले सरकार वास्तवमै राजनीतिक दलले चलाइरहेको हो कि अन्य कुनै शक्ति केन्द्रले भन्ने प्रश्न उठ्ने स्थिति सिर्जना गरेको छ। ‘गभर्नर नियुक्तिको प्रक्रियाले देशको शासन व्यवस्था को हातमा छ भन्ने प्रष्ट संकेत दिएको छ,’ उनले भने।
उनले नेपाल राष्ट्र बैंकमा डिपुटी गभर्नरहरूबाटै गभर्नर नियुक्त गर्ने परम्परा रहेको भए पनि, हाल त्यो पालना नभएको उल्लेख गरे। अन्तर्राष्ट्रिय अभ्यासअनुसार मौद्रिक, आर्थिक वा वित्तीय नीतिमा विज्ञता हासिल गरेका व्यक्तिहरू गभर्नर बन्ने भए पनि, नेपालमा भने कुनै स्वार्थ समूहले मन पराएका र आफ्ना व्यावसायिक हित पुरा गर्न सक्ने पात्र खोजिएको उनले आरोप लगाए।
‘जबसम्म स्वार्थ समूहसँग डिएनए मिल्दैन, गभर्नर नियुक्ति हुँदैन भन्ने जस्तो अवस्था देखिएको छ,’ पुनले भने। तर उनले विज्ञता भएको र पेशागत रुपमा योग्य व्यक्तिलाई गभर्नर बनाइएमा आफूहरूलाई आपत्ति नरहेको पनि स्पष्ट पारे। साथै, सरकारले गभर्नरजस्तो संवेदनशील पदमा राजनीतिक कार्यकर्ता वा गैरविज्ञ व्यक्ति नियुक्त नगर्नु पर्ने भन्दै सचेत गराएका छन्।