काठमाडौँ – ७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २५ स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने अझै पनि २८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकको वैशाख मसान्त सम्मको तथ्यांक अनुसार ७ सय २५ स्थनीय तहमा मात्रै वाणिज्य बैंकको शाखा पुगेको उल्लेख छ । प्रदेश ५ को सबै १ सय ९ वटै तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । सबै स्थानीय तहमा बैंक शाखा पुग्ने पहिलो प्रदेश पनि बन्न सफल भएको छ ।
प्रदेश न १ मा १ सय ३७ स्थानीय तहमध्ये १ सय ३४ स्थानीय तहमा मात्र शाखा पुगेको छ जहाँ अझै ३ स्थानीय तहमा बैंकको शाखा पुगेको छैन् । प्रदेश नं २ मा १ सय ३६ स्थानीय तहमध्ये १ सय ३४ वटा स्थानीय तहमा मात्रै बैंकको शाखा पुगेको छ जहाँ अझै २ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ । त्यस्तै प्रदेश नं ३ मा १ सय १९ वटा स्थानीय तहमध्ये १ सय १७ वटा स्थानीय तहमा मात्र बैंकको शाखा पुगेको छ । जहाँ २ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ ।
त्यसैगरी गण्डकी प्रदेशमा ८५ वटा स्थानीय तहमध्ये ८३ वटा स्थानीय तहामा मात्रै बैंकको शाखा पुगेको छ भने २ वटा स्थानीय तहमा अझै बैंकको शाखा पुगेको छैन् । कर्णाली प्रदेशको ७९ वटा स्थानीय तहमध्ये १२ वटा तहमा बैंक शाखा पुग्न बाँकी रहेको छ । सूदर पश्चिममा ८८ वटा स्थानीय तहमध्ये ८१ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ भने ७ वटा स्थानीय तहमा बैंकको शाखा पुगेको छ ।
वैशाख मसान्तसम्ममा वाणिज्य बैंकको संख्या २८, विकास बैंक ३२, फाइनान्स कम्पनी २४, लघुवित्त वित्तीय संस्था ९१ र एक पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा असार मसान्तसम्ममा ६ हजार ६ सय ५१ रहेकोमा वैशाख मसान्तसम्ममा आइपुग्दा बैंक तथा वित्तयि संस्थाहरुको शाखा संख्या बढेर ८ हजार ३ सय १९ पुगेको छ । अन्नपूर्णपोस्टबाट