MAX TIGER

नेपाल राष्ट्र बैंकका गभर्नरले पाए ‘बी’ ग्रेड

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नरको वार्षिक कार्य सम्पादनलाई आधार बनाएर मूल्यांकन हुने रिपोर्ट कार्ड सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन संस्था ग्लोबल फाइनान्सले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालका गभर्नर डा. विश्वनाथ पौडेलले ‘बी’ ग्रेड पाएका छन्।

ग्लोबल फाइनान्सले १ जुलाई सन् २०२५ देखि ३० जुन २०२६ सम्मको समयलाई आधार बनाएर गभर्नरहरूको कार्य सम्पादन मूल्यांकन सार्वजनिक भएको हो।

प्रतिवेदनमा मौद्रिक नीतिको प्रभावकारिता, वित्तीय क्षेत्रको नियमन तथा सुपरिवेक्षण, नीतिगत पारदर्शिता, केन्द्रीय बैंकको स्वायत्तता, आर्थिक पूर्वानुमान र राष्ट्रिय आर्थिक लक्ष्य प्राप्तिमा गरेको योगदानलाई मूल्यांकनको मुख्य आधार बनाइएको छ।

सो प्रतिवेदनअनुसार विश्वका प्रमुख केन्द्रीय बैंकका गभर्नरलाई ‘ए’ प्लसदेखि एफसम्मको ग्रेड दिइएको छ। ‘ए प्लस’ सबैभन्दा उत्कृष्ट र ‘एफ’ सबैभन्दा कमजोर श्रेणी हो। मूल्यांकनमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेलले ‘बी’ ग्रेड प्राप्त गरेका हुन्। पौडेलले सन् २०२५ मेदेखि राष्ट्र बैंकको गभर्नर बनेका थिए। उनको कार्यकालको प्रारम्भिक अवधिमा नेपालको बाह्य आर्थिक स्थायित्वमा उल्लेखनीय सुधार देखिएको प्रतिवेदनले देखाएको छ।

त्यस्तै, मुद्रास्फीति तुलनात्मक रुपमा न्यून रहँदा राष्ट्र बैंकले नीतिगत दर ४.२५ प्रतिशत र बैंक दर ५.७५ प्रतिशत कायम गर्दै आर्थिक गतिविधिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति अवलम्बन गरेको प्रतिवेदनमा उल्लेख छ।

ग्लोबल फाइनान्सको सन् २०२६ को ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड’मा डेनमार्क र पेरुका गभर्नरले ‘ए प्लस’, चिली, कोस्टारिका, ग्वाटेमाला, भारत, जमैका, पाराग्वे, सिंगापुर र दक्षिण अफ्रिकाले ‘ए’ ग्रेड पाएका छन्। यस्तै, अल्बानिया, अर्जेन्टिना, कम्बोडिया, चेक गणतन्त्र, डोमिनिकन गणतन्त्र, केन्या, कुवेत, मोरक्को, फिलिपिन्स, पोल्यान्ड, सर्बिया, स्विट्जरल्यान्ड, ताइवान र संयुक्त अरब इमिरेट्सले ‘ए माइनस’ ग्रेड पाए। अस्ट्रेलिया, बहामास, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, इजिप्ट, नाइजेरिया, श्रीलंका, जाम्बिया, अजरबैजान, बुल्गेरिया, युरोपेली संघ, हंगेरी, नर्वे, जोर्डन र साउदी अरेबियाले ‘बी प्लस’ पाउँदा नेपाल, आर्मेनिया, बोस्निया तथा हर्जगोभिना, बहराइन, कतार, स्विडेन, टर्की र बेलायतले ‘बी’ पाएको छ।

यता पाकिस्तान, दक्षिण कोरिया र नियालान्डले ‘बी माइनस’, अंगोला, घाना, मौरिटानिया र मोजाम्बिकले ‘सी प्लस’, मध्य अफ्रिकी राज्यहरूको बैंक, गाम्बिया, जर्जिया र रुवान्डाले ‘सी’, आइसल्यान्डले ‘सी माइनस’ तथा ट्युनिसियाले ‘डी प्लस’ ग्रेड प्राप्त गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्