PRABHU BANK

एनआईसी एशिया क्यापिटलको छैठौं वार्षिक साधारण सभा सम्पन्न

NIC ASIA Capital
  • बैंकिङ संसार
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज (भाद्र ८ गते) बुधबार सम्पन्न भएको छ । सभा क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौँमा सम्पन्न भएको हो । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै, उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५५ प्रतिशत (कर सहित) का दरले हुन आउने रु. ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आर्थिक वर्ष २०७८/०७९ मा रु. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरी प्रति सेयर आम्दानी रु. ६०.३९ कायम गरी संचालनमा रहेका मर्चेण्ट बैंकहरु मध्ये खुद मुनाफाको आधारमा पहिलो स्थान हासिल गर्न सफल भएको जानकारी गराएका थिए ।
उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरु मध्ये निक्षेप सदस्य सेवा अन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान, म्युचुअल फण्ड सेवा अन्तर्गत एउटा खुलामुखी योजना सहित ५ वटा योजना संचालन गरी म्युचुअल फण्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवा अन्तर्गत ५ सय ७३ जना ग्राहकहरुबाट रु. १ अर्ब ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको जानकारी समेत गराएका थिए ।
साथै, क्यापिटलले आफ्ना सेयरधनीलाई १ सय ४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएको समेत जानकारी गराएका थिए । अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।
क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाडौँ उपत्यका भित्र किर्तिपुर, चावहिल र अनामनगरमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ । क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै