एआईको नक्कली आवाजमा फस्यो इटालीको सबैभन्दा ठूलो बैंक, इन्टेसा सानपाओलोबाट ९ करोड ५० लाख युरो चोरी !

काठमाडौँ। इटालीको सबैभन्दा ठूलो बैंक इन्टेसा सानपाओलोको निजी बैंकिङ शाखा फिडेउरामबाट एआई प्रयोग गरी उच्च पदस्थ अधिकारीहरूको नक्कली पहिचान बनाएर करिब ९ करोड ५० लाख युरो चोरी भएको छ। घटनामा चोरी भएको रकममध्ये करिब ५ करोड ३० लाख युरो फिर्ता प्राप्त भए पनि करिब ३ करोड ६० लाख युरो अझै फेला परेको छैन।

फेब्रुअरीमा सुरु भएको भनिएको उक्त ठगीमा फिडेउरामका तत्कालीन अध्यक्ष पाओलो मोलेसिनीलाई ह्वाट्सएपमार्फत इन्टेसा सानपाओलोका प्रमुख कार्यकारी अधिकृत कार्लो मेसिनाको नामबाट सन्देश पठाइएको थियो। सन्देशमा विदेशमा तत्काल कारोबार गर्न सहयोग मागिएको थियो। त्यसपछि एउटा ठूलो कानुनी फर्मका वरिष्ठ साझेदारको नामबाट फोन आएको थियो। स्रोतहरूका अनुसार ठगी गर्ने समूहले एआई प्रविधि प्रयोग गरी ती वकिलको आवाजसमेत नक्कल गरेको थियो। निर्देशन वास्तविक भएको विश्वासमा मोलेसिनीले फिडेउरामको वित्त विभागलाई विदेशस्थित खाताहरूमा रकम पठाउन निर्देशन दिएका थिए। तीमध्ये अधिकांश रकम चीन र हङकङका खातामा पठाइएको थियो।

फिडेउरामले कारोबारमा असामान्यता देखिएपछि तत्काल सम्बन्धित बैंक तथा विभिन्न देशका अधिकारीहरूलाई जानकारी गराएको थियो। चीन, पोर्चुगल र इटालीका अधिकारीहरूको सहकार्यपछि करिब ५ करोड ३० लाख युरो फिर्ता ल्याउन सफल भएको स्रोतहरूले बताएका छन्। बाँकी रकम भने विभिन्न विदेशी खातामार्फत सारिएर क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिएकाले अहिलेसम्म पत्ता लाग्न नसकेको बताइएको छ।

इन्टेसा सानपाओलो र फिडेउरामले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेका छन्। स्रोतहरूका अनुसार मोलेसिनी वा फिडेउरामका अन्य अधिकारीमाथि अनुसन्धान भइरहेको छैन। यद्यपि, मिलानका अभियोजनकर्ताले युरोपबाहिर बस्ने एक विदेशी नागरिकमाथि साइबर ठगीको आशंकामा अनुसन्धान अघि बढाएका छन्। मोलेसिनीले मार्चमा व्यक्तिगत कारण देखाउँदै फिडेउरामको अध्यक्ष पदबाट राजीनामा दिएका थिए।

यसअघि पनि एआई प्रयोग गरी इटालीका एक मन्त्रीको आवाज नक्कल गरेर व्यवसायी मासिमो मोराट्टीबाट करिब १० लाख युरो विदेशस्थित खातामा पठाउन लगाइएको घटना सार्वजनिक भएको थियो। उक्त रकम भने पछि फिर्ता प्राप्त भएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्