अन्तरनिकाय सहकार्य, समन्वय र पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ। अन्तरनिकाय सहकार्य, समन्वय र पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ। वित्तीय सुशासन अभिवृद्धिका लागि नियमन तथा सुपरिवेक्षण, कानुन कार्यान्वयन र अभियोजनसँग सम्बन्धित निकायहरूबीचको सहकार्य, समन्वय तथा पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते काठमाडौंमा सम्पन्न भएको हो ।

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको अध्यक्षता र महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको प्रमुख आतिथ्यमा नेपाल राष्ट्र बैंकले उक्त कार्यक्रम आयोजना गरेका हो । गभर्नर पौडेलले वित्तीय सुशासन राष्ट्र बैंकसहित सबै निकायको साझा सरोकारको विषय रहेको धारणा राखे । एउटै विषयमा पनि निकायपिच्छे बुझाइमा भिन्नता आउन सक्ने भएकाले यस्ता अन्तरक्रिया महत्वपुर्ण हुने उनको भनाइ थियो ।

विश्वव्यापी रूपमा राज्यसत्तामाथिको पहुँच अन्तत: मुलुकभित्रको स्रोतसाधनमाथिको नियन्त्रण र स्वामित्वसँग जोडिएको उल्लेख गर्दै गभर्नर पौडेलले गलत व्यक्ति वा संस्थाको हातमा स्रोत नपुगोस् भन्नेमा राज्यका निकायहरू सजग रहनुपर्ने आवश्यकतामा जोड दिए । यसका लागि ‘सिङ्गो सरकारी संयन्त्रको दृष्टिकोण’ अवलम्बन गर्नुपर्ने र त्यस्तो साझा दिशा निर्धारण भएपछि प्रत्येक निकाय आफ्नो कार्यक्षेत्रभित्र रही स्वत: क्रियाशील हुने धारणा उनले व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलले प्रचलित कानुनमा देखिएका समस्या र सुधारका विषयमा मन्त्रालयस्तरबाट अध्ययन तथा संशोधनको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै वित्तीय अपराधविरुद्धको प्रयासमा महान्यायाधिवक्ताको कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने बताए ।

यस अवसरमा नायब महान्यायाधिवक्ताद्वय संजीवराज रेग्मी र लोकराज पराजुली, नेपाल सरकारका सचिव एवम् नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, डेपुटी गभर्नरद्वय किरण पण्डित र दीर्घबहादुर रावल, नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख उमाप्रसाद चतुर्वेदीसहित नियमनकारी, अनुसन्धानकारी तथा अभियोजनसँग सम्बन्धित निकायका उच्च अधिकारी र प्रतिनिधिहरूको उपस्थिति थियो ।

Press Release on Interaction Program (2083-06-05)

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्